-डा.गोविन्दशरण उपाध्याय ।
डिजिटल प्रविधिले आजको मानव जीवनलाई तीव्र, सजिलो र विश्वव्यापी बनाएको छ। मोबाइल फोन, इन्टरनेट, युट्युब, टिकटक, फेसबुकजस्ता माध्यमहरूले सूचना, शिक्षा, रोजगारी र मनोरञ्जनलाई हाम्रो हातको स्क्रिनभित्र सीमित गरिदिएका छन्। तर यही सुविधा जब नियन्त्रणबाहिर जान्छ, तब डिजिटल लत को रूप लिन्छ । यो लत केवल व्यक्तिगत समस्या होइन, यसले पति–पत्नीको आन्तरिक सम्बन्ध, पारिवारिक संरचना र सामाजिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ । विशेषतः दाम्पत्य जीवनमा यसको प्रभाव सूक्ष्म, दीर्घकालीन र कहिलेकाहीँ विनाशकारी देखिन थालेको छ ।
डिजिटल लत भन्नाले मोबाइल, इन्टरनेट वा डिजिटल प्लेटफर्मको अत्यधिक प्रयोगका कारण व्यक्तिले आफ्नो समय, ध्यान र भावनात्मक ऊर्जा पारस्परिक सम्बन्धमाभन्दा स्क्रिनमा बढी खर्च गर्नु हो । मनोवैज्ञानिक अनुसन्धानहरूले यसलाई Behavioral addiction को रूपमा वर्गीकृत गरेका छन्, जहाँ पदार्थ सेवन नगरे पनि मस्तिष्कको डोपामिन प्रणाली उत्तिकै सक्रिय हुन्छ । युट्युबका भिडियो, टिकटकका छोटा क्लिप, लाइक–कमेन्ट र नोटिफिकेशनले तुरुन्तै आनन्द दिन्छन्, जसले मानिसलाई बारम्बार स्क्रिनतर्फ फर्काइरहन्छ । यही चक्रले दाम्पत्य सम्बन्धमा समय, संवाद र संवेदनशीलता अपहरण गरेर लैजान्छ।
दाम्पत्य सम्बन्धको मूल आधार समय र उपस्थिति हो । पति–पत्नी एउटै छानामुनि बसेर पनि यदि मोबाइलमा व्यस्त छन् भने उनीहरू शारीरिक रूपमा नजिक तर भावनात्मक रूपमा टाढा हुन्छन् । सामाजिक अनुसन्धानहरूका अनुसार, आज धेरै दाम्पत्यहरू ‘Alone Together’ को अवस्थामा पुगेका छन्—सँगै बसेका तर एक्लै महसुस गर्ने । मोबाइल स्क्रिनले आँखामा आँखा जुधाएर एकआपसमा गरिने संवाद घटाउँछ । महत्वपूर्ण कुरालाई छोटा प्रतिक्रियामा सीमित गर्छ, र समस्या साझा गर्ने संस्कार कमजोर बनाउँछ । यसरी संवादको क्षय दाम्पत्य दूरीको पहिलो चरण बन्छ।
अनुसन्धानहरूले देखाएका छन् कि डिजिटल लत भएका जोडीहरूले आफूलाई उपेक्षित र अवहेलित महसुस गर्ने सम्भावना धेरै हुन्छ। मोबाइलमा व्यस्त पति वा पत्नीले अनजानेमा पनि ‘तिमीभन्दा मेरो स्क्रिन महत्वपूर्ण छ’ भन्ने सन्देश दिन्छ। यसले आत्मसम्मानमा चोट पुर्याउँछ, गुनासो र रिस बढाउँछ, र भावनात्मक असुरक्षा जन्माउँछ । दाम्पत्य सम्बन्धी अध्ययनहरूमा देखिएको छ कि दैनिक स्क्रिन समय बढ्दै जाँदा वैवाहिक सन्तुष्टि घट्दै जान्छ।
डिजिटल लतको अर्को गम्भीर प्रभाव यौनसम्बन्ध मा देखिन्छ। अत्यधिक मोबाइल प्रयोगले निद्रा बिगार्छ, थकान बढाउँछ र शारीरिक–मानसिक ऊर्जा घटाउँछ । यसले यौन इच्छा र निकटता दुवैलाई कमजोर बनाउँछ। थप रूपमा, इन्टरनेटमा सजिलै उपलब्ध पोर्नोग्राफीले अवास्तविक यौन अपेक्षा जन्माउँछ ।
अनुसन्धानहरूकाअनुसार, नियमित पोर्नोग्राफी प्रयोगले पति–पत्नीबीच तुलना, असन्तोष र विश्वासको संकट बढाउने सम्भावना उच्च हुन्छ। यौन सम्बन्ध जैविक आवश्यकता मात्र नभई भावनात्मक बन्धन पनि हो, डिजिटल लतले यही बन्धन खुकुलो बनाउँछ।
सामाजिक सञ्जालले दाम्पत्यमा तुलनात्मक मानसिकता पनि भित्राएको छ। टिकटक, इन्स्टाग्राम वा फेसबुकमा देखिने चम्किला जोडी, रमाइला यात्रा र ‘परफेक्ट’ जीवनले मानिसलाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य बनाउँछ । सामाजिक मनोविज्ञानले यसलाई Upward social comparison भन्छ, जसले असन्तोष र हीनताबोध बढाउँछ। ‘अरूको दाम्पत्य यति राम्रो, मेरो किन यस्तो छैन?’ भन्ने सोचले सम्बन्धप्रति कृतज्ञता घटाउँछ र आलोचनात्मक दृष्टि बढाउँछ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सधैं ‘रोमान्सयुक्त’ देखाइने प्रयत्न गरिएको हुन्छ । वस्तुगत जीवनमा चलचित्रहरूमा प्रस्तुत गरिएको भन्दा भिन्न जीवन प्रणाली हुन्छ ।
युट्युब र टिकटकजस्ता प्लेटफर्मले ध्यान अवधि (attention span) घटाएको प्रमाण पनि अनुसन्धानहरूले दिएका छन्। छोटा भिडियोहरू हेर्ने बानीले मानिसलाई लामो संवाद, धैर्यपूर्वक सुनाइ र गहिरो कुरा सुन्न र काम गर्न असहज बनाउँछ । दाम्पत्य जीवनमा भने सहनशीलता, ध्यान र निरन्तर संवाद आवश्यक हुन्छ । ध्यान क्षमता कमजोर हुँदा स–साना कुरामा झगडा, चाँडै झर्को लाग्ने र समस्याबाट भाग्ने प्रवृत्ति बढ्छ । यसरी डिजिटल लतले सम्बन्धमा आएका समस्याहरू समाधान गर्ने क्षमतासमेत कमजोर बनाउँछ भन्ने तत्थ्य प्रसिद्ध मनोबैज्ञानिक खोजहरूले प्रमाणित गरेका छन् ।
मानसिक स्वास्थ्यको दृष्टिले पनि डिजिटल लत र दाम्पत्य तनावबीच गहिरो सम्बन्ध देखिएको छ। विभिन्न अध्ययनहरूले अत्यधिक स्क्रिन प्रयोग डिप्रेसन, एङ्जाइटी, चिडचिडाहट र निद्रा समस्यासँग सम्बन्धित रहेको देखाएका छन्। जब पति वा पत्नी मानसिक रूपमा असन्तुलित हुन्छन्, तब सहानुभूति घट्छ, संवाद कठोर बन्छ र विवाद समाधानको क्षमता कमजोर हुन्छ । दीर्घकालीन रूपमा यसले मौन द्वन्द्व (silent conflict), भावनात्मक टुटफुट र अन्ततः सम्बन्ध विच्छेदको जोखिम बढाउन सक्छ।
वैदिक तथा भारतीयवर्षीय मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा डिजिटल लत इन्द्रिय–असंयम को आधुनिक रूप हो। गीता र उपनिषदहरूले विषय–आसक्तिलाई दुःखको मूल कारण मानेका छन् । निरन्तर बनावटी दृश्य र ध्वनिमा डुबिरहने मन शान्त रहन सक्दैन । जब मन अशान्त हुन्छ, तब दाम्पत्य धर्म—सहकार्य, संयम, कर्तव्य र प्रेम—स्वतः कमजोर हुन्छन् । डिजिटल लतले बाह्य सुख त दिन्छ, तर आन्तरिक शून्यता बढाउँछ, जसको असर पतिपत्नीको एकआपसी सम्बन्धमा देखिन्छ।
यद्यपि डिजिटल माध्यम आफैंमा नकारात्मक होइन । समस्या यसको अत्यधिक र असचेत प्रयोग हो । अनुसन्धान र व्यवहारिक अनुभवहरूले देखाएका समाधानहरू सरल तर प्रभावकारी छन्—दाम्पत्य समयलाई ‘नो–फोन जोन’ बनाउने, दैनिक निश्चित समय गुणस्तरीय संवादका लागि छुट्याउने, साप्ताहिक डिजिटल विश्राम (digital detox) गर्ने, र डिजिटल प्रयोगका नियमहरू पनि पति–पत्नी मिलेर बनाउने। जब प्रविधिमाथि सचेत नियन्त्रण हुन्छ, तब प्रविधिले सम्बन्ध बिगार्दैन, बरु सम्बन्ध राम्रो बनाउने कुरामा सहायक बन्न सक्छ।
अन्त्यम, डिजिटल लत आजको दाम्पत्य जीवनको मौन संकट हो। मोबाइल, इन्टरनेट, युट्युब र टिकटकले समय, ध्यान र संवेदना चोरेर दाम्पत्य सम्बन्धलाई कमजोर बनाइरहेका छन् भन्ने तथ्य अनुसन्धानहरूले स्पष्ट देखाएका छन्। सुखी दाम्पत्यका लागि प्रविधि होइन, मानव सम्बन्ध केन्द्रमा राख्नुपर्छ। स्क्रिनभन्दा अगाडि बसेको जीवनसाथीलाई प्राथमिकता दिन सके, डिजिटल युगमै पनि दाम्पत्यलाई गहिरो, सन्तुलित र अर्थपूर्ण बनाउन सकिन्छ । नेपालमा डिजिटल लतको समस्या बढ्दो छ । समय मैं सरकार र सम्बन्धित विषयविज्ञहरूले उपर्युक्त समस्याको समाधान गर्न दीर्घकालीन नीति तर्जुमा गर्न आरम्भ गर्नुपर्छ । डिजिटल माया बास्तविक जीवनउपर हावी हुनुहुँदैन । प्रविधिको उपयोग सम्बन्ध विगार्न होइन राम्रो बनाउन उपयोग हुनुपर्छ ।

प्रतिक्रिया