रास्वपाले भन्यो-पार्टी सभापतिमाथि नागरिक सरकारले प्रतिशोधको श्रृङ्खला नदोहोर्याओस्


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ ।

शुक्रबार पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले विज्ञप्ति जारी गरी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ।’

उनले राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्ने देश–विदेशमा रहेका सम्पूर्ण न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत् न्यायका पक्षमा उभिएर सन्देश दिने पार्टी सदस्य एवं समर्थक – शुभेच्छुकहरुप्रति आभार व्यक्त गरेका छन् । उनले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी दिएका छन् ।