मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो, हामी त मिति कुरेर बसेका छौंः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ मा निर्वाचन हुनुपर्ने बताएका छन् । शुक्रबार मोरङको सुन्दरहरैंचामा नेता, कार्यकर्तासँगको भेटमा कोइरालाले निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिए ।

उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए । उनले भने, ‘मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो, हामी त निर्वाचनको मिति कुरेर बसेका छौं । तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’

कोइरालाले दलका केही नेतालाई सरकारले काठमाडौंबाहिर जान नदिएर निर्वाचनको वातावरण विगारेको आरोप लगाए । उनले सरकारलाई नेताहरुको स्थान हद खुला गर्न तथा लुटिएका हतियार र कैदीबन्दी पक्राउ गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।