‘बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय सकिएको छ’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी नीकिता पौडेलले बेइमानीहरुको रजगज धेरै नचल्ने बताएकी छन् । अदालतले रविलाई रिहा गर्ने आदेश दिएपछि शुक्रबार बिहान सामाजिक संजालमार्फत नीकिताले बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको उल्लेख गरेकी छन् ।

यस्तो छ नीकिताको भनाई

बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ । केही समय लाग्यो। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के–के खेपियो–खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।
यो बीचमा हामीले के भोगेनौं । ऊसले ‘कालकोठरी’ भोग्यो । र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें । उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानूनी पाटोबाट संरक्षणको हरसम्भव प्रयास गरें ।

अगाध आस्था र विश्वास रहेकाले यो दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भएपनि आयो । कानूनी प्रकृया अझै बाँकी छ। र, भगवानप्रतिको उस्तै आस्थाको निरन्तरता पनि । न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छौं । यहाँहरूको साथ, सहयोग र शुभेच्छाले हामीलाई थप ऊर्जा दिएको छ, पाइरहुँ। अहिलेसम्मको सद्भाव र समर्थनका लागि सबैलाई नमन्।’