नत्र एमालेजनले आफ्नो खुट्टामा आफैं बञ्चरो बजारेको ठहरिनेछ


-सुवोधराज प्याकुरेल ।

सबैभन्दा माथि विचार हुन्छ । विचारको प्रशासनिक प्रवन्ध गर्न संगठन बनाइन्छ। विचारको औचित्य त्यसले सिर्जना गर्ने विश्वासमा भर पर्छ । विचारको सर्वोच्चता हुन्छ। विचारको आलोकमा सबै सदस्यहरु स्वायत्त हुन्छन् । हरेक व्यक्तिको स्वाभिमान स्वायत्तता र सिर्जनात्मकता हुन्छ । कसमा कति सिर्जनात्मकता छ भन्नेकुरा व्यक्तिको आलोचनात्मक चेत कति छ भन्नेकुराले बुझ्न सकिन्छ। त्यही सिर्जनात्मक क्षमताको आधारमा एक आपसमा प्रतिष्पर्धा हुन्छ । प्रतिष्पर्धालाई स्वच्छ स्पष्ट मर्यादित बनाउन आचारसंहिता बनाइन्छ ।

सिर्जनात्मक क्षमता नभएकाहरु व्यक्तिको भक्तिमा लीन हुन्छन् । जसरी भक्तले देउताको पाउमा सम्पूर्ण समर्पण गर्छ र आफ्नो स्वायत्त चेतना तथाकथित भगवानको पाउमा समर्पित गर्छ त्यसैगरी भक्तहरुले पनि आफ्नो सम्पूर्ण अस्तित्व नेता विशेषको पाउमा चढाउँछन् । तिनीहरु विचार र स्वाभिमान शून्य बुख्याँचा हुन् । तिनको एकमात्र लक्ष्य नेताको मनोकामना पुरा गर्नु हो । त्यस्तै व्यक्तिको हूलले गुटको सिर्जना गर्नेहुन् । जहाँ विचार संगठन होइन कि फलानोको मान्छेको आधारमा व्यवहार गरिन्छ ।
आजको एमाले यही पीडामा छ । पार्टीको तेजोवध गरिएको छ ।

६–६ वर्ष प्रधानमन्त्री भएका ओलीको विकास नीति शुद्ध नवउदारवादी बाहेक थिएन । धान्न नसकिने अजङ्गका विकास नीति देशको लागि सेतो हात्ती हुने खालका धेरै छन् । उत्पादक शक्तिको आत्मनिर्भर विकास गर्ने, उत्पादन सम्बन्धलाई न्यायपूर्ण बनाउने, जनताको सर्वपक्षीय विकास गर्दै समानान्तर रुपमा उनीहरुले चिन्न बुझ्न र नेतृत्व गर्न सक्ने विकासका आयामहरु थप्दै जाने कुरा केपीको राष्ट्र विकासका योजनामा कहिल्यै परेनन् । पञ्चायत वा राणाले सोँचेको विकास नीति र ओलीको विकास नीतिमा आमुल भिन्नता छैन । संयुक्त राष्ट्रसंघको दिगो विकास नीतिले बाध्य पारे बाहेकको मौलिक चिन्तन ओलीको विकास नीतिमा बिरलै पाइन्छ।

अझै पनि भक्त र तिनका भगवान उपर विश्वास गरिरहने हो भने, एमालेजनले आफ्नो खुट्टामा आफैं बञ्चरो बजारेको ठहरिनेवाला छ । आगे, तपाईँ महाधिवेशन प्रतिनिधिहरुको जो मर्जी ।