काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्न वार्ता र सम्वाद गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले प्रचलित कानुनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टास्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।
बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्काशन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरिएको प्रवक्ता खरेलले बताए ।

प्रतिक्रिया