दुर्गा प्रसाईँसँग वार्ता गर्न संचारमन्त्रीको संयोजकत्वमा समिति गठन


काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।

महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

समितिसँग वार्ता गर्नका लागि महाअभियानबाट पनि ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन आग्रह गरिएको छ ।