विधान संशोधन गर्न ओली सफल, अब पदाधिकारीको संख्या १९ हुने


काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधन गरेको छ । महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । 

अब एमालेको विधानमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम हुने भएको छ । संशोधित विधानअनुसार अब अध्यक्ष एक, उपाध्यक्ष ५, महासचिव एक, उपमहासचिव ३, सचिव ९ जना हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

अब वरिष्ठ उपाध्यक्ष पद भने रहने छैन । त्यस्तै स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । विधान महाधिवेशनको निर्णय उल्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरुले विरोध गरेका थिए ।

यसअघि भदौमा भएको विधान महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सातसहित १५ सदस्य रहेको पदाधिकारी बनाउनेगरि विधान संशोधन गरेको थियो ।