मोहनविक्रम सिंह ।
जेनजी आन्दोलनको सिलसिलामा भदौं २३ गतेको वर्वर हत्याकाण्ड नेपालको राजनीतिक इतिहासको नै एउटा ठूलो कलंक हो । हाम्रो यो स्पष्ट र दृढ मत छकि त्यो हत्याकाण्डका लागि जिम्मेवार व्यक्तिहरु माथि कारवाही गरिनुपर्दछ । निश्चय नै, त्यस प्रकारको कारबाही निष्पक्ष, उच्च र न्यायोचित छानबिनका आधारमा नै गरिनुपर्दछ ।
ओलीले यो दावी गरिहेका छन् कि, त्यो दिनको हत्या काण्डका लागि उनी वा उनको सरकार जिम्मेवार छैन । यदी त्यसो भएमा यसका लागि को जिम्मेवार छ ? उनले त्यो कुरा प्रकाशमा ल्याउनु पर्दछ र त्यो कुरालाई प्रमाणित पनि गर्नु पर्दछ । अन्यथा त्यो हत्याकाण्डका लागि ओली सरकार नै जिम्मेवार भएको र त्यो सरकारका प्रमुखको हैसियतले उनी नै मुख्य जिम्मेवार भएको कुरा दिनको उज्यालो झै छर्लङ्ग छ ।
उनले त्यो काण्डको छानविनको लागि वयान दिन नजाने दावी गरेका छन् । त्यति मात्र होइन, उनले युथ फोर्सको गठन गरेर उनलाई बयानका लागि बोलाउने कुनै कार्यको प्रतिरोध गर्ने कुरा बताइरहेका छन् । युथ फोर्सका नेताहरुले वयानको लागि ओलीलाई बोलाईएमा एक लाख युवकहरूले प्रतिकार गर्ने बताइरहेका छन् । त्यो अवश्य पनि फासिष्ट तरिका हो । त्यस प्रकारको फासिष्ट तरिका ओलीको पहिले देखिको नै अधिनायकवादी, स्वेच्छाचारी र चरम प्रकारको व्यक्तिवादी चरित्र अनुरुप नै छ ।
एमाले र माओवादीका वीचमा पार्टी एकता गरेर जुन पार्टी बनेको थियो, त्यो ओलीको अधिनायकवादी र व्यक्तिवादी कारणले नै टुटेको थियो । त्यो बेला उनको बहुमत नहुने कमिटीको वैठकमा उपस्थित नै नहुने र बहुमतको निर्णय पनि नमान्ने कुरा सार्वजनिक रुपले नै बताएका थिए । उनको गलत प्रकारको शासन प्रणालीबाट असन्तोष भएर सांसदहरुले उनका विरुद्ध अविश्वासको प्रस्ताव राख्न खोज्दा उनले संसदको नै विघटन गराएका थिए । बहुमत सांसदहरुले राष्ट्रपति कहाँ गएर उनका विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराउन खोज्दा अल्पमतमा परेका ओलीले संसदको नै विघटन गर्न लगाएका थिए ।
पहिले उनले आफ्नो पार्टीका दुई कार्यकाल वा ७० बर्षको उमेर पुगेपछि पार्टीको नेतृत्वमा आउन नमिल्ने नियम पारित गराएका थिए । तर उनको दुई कार्यकाल वा ७० बर्षको उमेर पुगेपछि उनलाई नेतृत्वमा पुग्न बाधा पुग्ने भएपछि उनले विधान महाधिवेशनद्वारा त्यो नियमलाई परिवर्तन गर्न लगाएका थिए । आवश्यकता अनुसार पार्टीमा कुनै नियमहरु बनाउन सकिन्छ । तर कुनै व्यक्तिको हितलाई केन्द्रमा राखेर त्यसरी कुनै नियममा हेराफेरी गर्नु अधिनायकवादी तरिका हो ।
अमेरिकामा अवश्यपनि दुई कार्यकाल भन्दा बढी कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन नपाउने नियम छ । तर संसारका धेरैजसो देशहरु र नेपालमा पनि पूर्वराष्ट्रपति सकृय राजनीतिमा आउन नपाउने कुनै नियम छैन । पहिले विद्या भण्डारीको पार्टीको सदस्यता नविकरण गरिएको थियो । तर उनले अध्यक्षको पदमा प्रतिस्पर्धा गर्ने बताएपछि उनको पार्टीसदस्यता माथि रोक लगाइयो । त्यसले पनि ओलीको चरम प्रकारको महत्वाकांक्षा र व्यक्तिवादीतालाई नै बताउँछ ।
ओलीको त्यस प्रकारको अधिनायकवादी चरित्र भाद्र २३ गतेको गोलीकाण्डमा पनि देखापर्यो । त्यसका लागि उनी निर्दोष छन् वा कुनै घुषपैठियाद्वारा त्यस प्रकारको कारबाही गरिएको हो भने उनले त्यसबारे सफाई दिनुपर्दछ र विषयलाई सार्वजनिक रुपले नै स्पष्ट गर्नुपर्दछ । तर उनले कुनै वयान दिन नजाने वा युथ फोर्स बनाएर त्यसमा अवरोध पैदा गर्ने जुन कार्य गरिरहेका छन्, त्यसलाई कुनैपनि अवस्थामा न्यायोचित भन्न सकिन्न । उनको युथ फोर्सले ओलीलाई वयानको लागि लगिएमा कडा प्रतिरोध गर्ने जुन अभिव्यक्ति दिईरहेको छ, त्यसबाट भोली चुनाव वा अरु शान्तिपूर्ण कार्यहरुमा पनि विरोधी शक्तिहरु माथि पनि बल प्रयोग गर्ने संभावनालाई अस्वीकार गर्न सकिन्न । त्यसरी ओलीले अपनाउने अधिनायकवादी वा अशिष्टताबाट देशमा गंभीर प्रकारको अशान्ति वा द्वन्द्वको स्थिति उत्पन्न हुने खतराप्रति हामी सबैको समयमा नै ध्यान जानुपर्ने आवश्यकता छ ।
पहिले ओलीको नेतृत्वमा भएको भ्रष्टाचार र कुशासनले देशमा गंभीर प्रकारको असन्तोषलाई जन्म दियो । र त्यसरी जेनजी आन्दोलनको बेलामा देखा परेको गम्भीर स्थितिका लागि पनि ओलीको त्यस प्रकारको कार्यशैली काफी हदसम्म जिम्मेवार छ । उनले अहिले प्रर्दशन गरिरहेको अधिनायकवादी वा फासिष्ट कार्यशैलीले देशलाई कहाँ पुर्याउने हो ? त्यो पनि गंभीर चिन्ताको विषय हो । के लामो संघर्ष, त्याग र बलिदानको इतिहास भएमा स्वयम् एमालेका नेता वा कार्यकर्ताहरुको पनि त्यसप्रति ध्यान जाला ?

प्रतिक्रिया