यो संविधान मरिसक्यो, अब ब्यूँताउन आवश्यक छैनः अध्यक्ष लिङदेन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान मरिसकेकाले अब ब्यूँताउन आवश्यक नभएको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष लिङदेनले जेनजी आन्दोलनपछि संविधान नरहेको बताएका हुन् ।

उनले आफ्नो पार्टीले पहिलेदेखि नै संविधान अपूर्ण रहेको बताउँदै आएको उल्लेख गर्दै जेनजी आन्दोलनले त्यसको पुष्टि गरेको बताए ।

उनले भने, ‘संविधान कहाँ छ ? संविधान मरिसकेको छ । मरिसकेको संविधानलाई ब्यूताउँनतिर लाग्नु हुँदैन, त्यसले समस्या समाधान हुँदैन । संविधान भन्ने चिज गीता, बाइबल, कुरान होइन, यो फेर्नुपर्छ भन्दै आएका थियौं र अहिले पनि त्यही अडानमा छौँ ।’

उनले अब संविधानलाई ब्युताउनतिर नलागेर नयाँ समझदारीमा जानुपर्ने बताए । राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । तीनै पक्षको समझदारीले मात्रै देश अघि बढ्ने उनको भनाई थियो ।