जेनजी आन्दोलनपछि हामी भागेका थिएनौं, सुरक्षित स्थानमा रहेर समीक्षारत थियौंः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजक तत्वले भदौ २३ को आन्दोलन भड्काएको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई भड्काउँदा असामान्य परिस्थिति उत्पन्न भएको बताए ।

उनले आफ्नो निहीत स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवं अकल्पनीय परिस्थिति सिर्जना भएको बताए । उनले आफ्नो चाहना सामाजिक सञ्जाल बन्द गर्ने नभई नियमन गर्ने मात्र भएको बताए ।

उनले भने, ‘कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूहरू प्रवेश गरे । अनि हिंसा र तोडफोड त के फूलको हाँगा पनि भाँच्दैनौं र निषेधित क्षेत्र तोड्दैनौं भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा तोडफोड र आगजनी गरेर दुरुत्साहन गर्ने तथा त्यसैका आडमा आफ्नो निहीत स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद् एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।’

उनले भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनले भदौ २३ को घटनापछि थप क्षति नहोस् भनेर आफूले राजीनामा दिएर केही समय सुरक्षित स्थानमा गएर बसेको बताए । उनले भने, ‘हामी सुरक्षित स्थानमा रहेर समीक्षारत थियौं । नेता, समाजका अगुवा मारिउन् भन्नेहरूले आज व्यङ्ग्य गरेको सुनिन्छ, हेलिकप्टर चढेर भागे भनेर ।’ उनले भदौ २३ र २४ को महाविनाश बिर्सन नसकिने भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।

उनले संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भए दलहरूबीच सहमति हुनुपर्छ र संसद विघटन गर्न पाइँदैन भनेर आफूले बताएको जानकारी दिए ।

उनले भने, ‘देश अन्योलमा थियो, संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू राख्यौँ। यदि संसद्बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने भए दलहरूबीच सहमति हुनुपर्छ, संसदमार्फत् संविधान संशोधन हुनुपर्छ, संसद् विघटन गर्न हुँदैन भन्ने अडान थियो। तर देशलाई उल्टो दिशामा लगियो।’

उनले असंवैधानिक सिफारिसमा भएको विघटन अस्वीकार्य भएको भन्दै पुनस्र्थापनाको विकल्प नभएको बताए।