धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै अगाडि बढ्छौंः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने कुरा स्टन्ट मात्र नभएर साकार पारेरै छाड्ने दाबी गरेका छन् ।

भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत प्रमाणित गरेको बताए ।

उनले भने, ‘पुराना पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो र यस्तो भाष्य बनाइएको थियो । तर, यो जनसागरले लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ भन्ने देखायो।’

उनले धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको बताए ।

उनले भने, ‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो । संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो ।’