यो सरकार दैलामा नागपञ्चमीमा टाँसेको नागको फोटोजस्तो होः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजीबीच भएको सम्झौतालाई कलाविहीन भद्दा नाटकको संज्ञा दिएका छन् ।

बिहीबार पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सम्झौता गर्ने म्यान्डेट यो सरकारलाई नभएको बताएका हुन् । उनले सम्झौता जेनजीहरुले नै अस्वीकार गरेकाले त्यसको औचित्य नभएको बताए ।

उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ च्यातियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’

सरकारप्रति आक्रोश पोख्दै अध्यक्ष ओलीले यसको फेद टुप्पो केही नभएको बताए । उनले भने, ‘यो फेद न टुप्पोको सरकार हो । यो सरकार दैलामा नागपञ्चमीमा टाँसेको नागको फोटोजस्तो हो । यो नागको फोटो कसले टाँस्यो ? गोबर लगाएर टाँसेको सरकार हो । कतैबाट चुनिएको होइन ।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताए ।