एमालेको आग्रहपछि दुई दिन नागढुङ्गा– मुग्लिन सडक खण्ड बन्द नगरिने


काठमाडौँ । नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरी दुई दिन नागढुङ्गा– मुग्लिन सडक खण्ड बन्द नहुने भएको छ ।

एमालेको आग्रहमा दुई दिन सडक बन्द नगरिने भएको हो । बुधबार राष्ट्रिय युवा संघ नेपालको टोलीले भौतिक तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी मंसिर २६,२७ र २८ गते सडक बन्द नगर्न आग्रह गरेको थियो ।

युवा संघको आग्रहपछि मन्त्री घिसिङले दुई दिन सडक बन्द नगर्ने बताएका छन् । सोही बमोजिम २६ र २७ गते काठमाडौं प्रवेश गर्ने सडक पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको छ । सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको छ ।

सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्न थालेको छ । नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ३ः३० सम्म सडक बन्द गरी काम तीव्र बनाइएको छ ।