-सुरेश आचार्य
पोष्टबहादुर बोगटीकी धर्मपत्नी श्रीमती राममाया बोगटीलाई मैले आजसम्म फोटो वा प्रत्यक्ष देखेको वा भेटेको छैन । तर, मेरो अनुमान के हो भने उहकका पाको उमेरकी, विशुद्ध गृहिणी र सामान्य साक्षरमात्र भएकाले उहाँ स्वयम् आवाजविहीन हुनुहोला भने ठानेर good faith मा आजको टिप्पणी लेखेको हुँ । मलाई हॉसो उठ्छ, लोग्नेले गरेको भ्रष्टाचारजन्य अभियोगमा पत्नीलाई प्रतिवादीका रूपमा सरकारवादी मुद्दामा खडा गर्ने ‘फेसन’ देखिन थालेको छ । यसअघि पनि पूर्वपर्यटन सचिव रहँदाको अवस्थामा भएको भ्रष्टाचारको अभियोगमा मृत्यु भइसकेका स्वर्गीय माधवप्रसाद घिमिरेकी ‘धर्मपत्नी भएकै कारणले’ दिवंगत श्रीमानको मुद्दामा श्रीमतीलाई प्रतिवादी बनाई अभियुक्तकै रोहमा राखेर मिसिल खडा गरिएको अखबारमा पढेको थिएँ ।
हिजोमात्रै अख्तियार दुरूपयोग अनुसन्न्धान आयोगले दिवंगत पर्यटनमन्त्री पोष्टबहादुर बोगटीको श्रीमतीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारजन्य मुद्दामा दिवंगत बोगटीकी ‘धर्मपत्नी भएकै कारणले’ श्रीमती बोगटीलाई मुद्दाको प्रतिवादी बनाएको खबरमा आएको छ ।
किन, यस्तो ?
श्रीमान बोगटीको कालगतीले मृत्यु भइसकेको कारणले निज विरूद्धको अभियोगको प्रतिबाद गर्नलाई मात्रै श्रीमतीलाई मौका दिने उद्देश्य हो कि ? अथवा, यदि अन्तिम फैसलामा श्रीमान् बोगटी कसुरदार प्रमाणित भएमा निजको दण्ड–सजाय निजकी धर्मपत्नीले भुक्तान गर्नुपर्ने हो, खबरमा आएका कुराबाट प्रष्ट हुँदैन ।
जे भएपनि, दिवंगत बोगटीकी ‘धर्मपत्नी भएकै कारण’ ले श्रीमती बोगटीको संविधान प्रदत्त व्यक्तिगत स्वतन्त्रता, मौलिक हक र अधिकार हनन् तथा सामाजिक मर्यादालाई खलल पार्न मिल्ने कि नमिल्ने, मेरो प्रश्नको निहीत उद्देश्य, यो हो । दिवंगत श्रीमानको representation गर्न केवल procedural purpose का लागि मात्रै श्रीमती बोगटीलाई प्रतिवादी बनाइएको हो भने त्यसलाई कानुनसम्मत नै मान्नु पर्ने हुन्छ । तैपनि, जबसम्म धर्मपत्नी विरूद्ध ठोस प्रमाण हुँदैन, अभियुक्तहरूको रोहमा राखेर धर्मपत्नीलाई प्रतिवादी बनाइनुले निजको व्यक्तिगत र सामाजिक मर्यादामा आघात हुनजान्छ ।
अझ, अभियोगमा श्रीमतीको प्रत्यक्ष संलग्नता, सहकार्य वा लाभ उठाएको सबुत प्रमाण पेश नगरीकनै भ्रष्टाचारमा बेसरोकार रहेकी श्रीमती बोगटीलाई श्रीमानको मुद्दामा “धर्मपत्नी हुनुकै कारणले“ दण्ड–सजाय भुक्तान गराउन वा बेहोर्नका लागि प्रतिवादी बनाइएको हो भने यसरी अभियुक्त सरह मुद्दामा पक्षविपक्ष बनाइनुले गम्भीर प्रश्नहरू खडा हुन्छ । यदि अख्तियारको यस्तो आशय हो भने त्यो न्यायिक सिद्धान्त र कानुनी दृष्टिमा पूर्ण रूपमा अवैध हो । US Supreme Court: ‘Criminal guilt is individual; it does not travel with blood, marriage, or association.’
भारतमा ५० वटा भन्दाबढी मुद्दाको फैसलामा ‘पतिको भ्रष्टाचारमा पत्नीलाई आरोपी बनाउन, प्रत्यक्ष संलग्नताको ‘ prima facie proof’ अनिवार्य छ’ भन्ने आधार लिइएको देखिन्छ । कुनै पनि व्यक्तिलाई उसले नगरेको अपराधमा दण्डित गर्न सकिँदैन वा आरोपीको रोहमा राख्न पनि मिल्दैन । ‘प्राकृतिक न्याय, नेपालको संविधान र अपराध संहिता, अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड र अन्य लोकतान्त्रिक मुलुकका स्थापित नजीर विपरित हुनुका साथै वैदिक सनातन विवाह पद्दतिकै बर्खिलाप हो । वैदिक सनातन विवाह विधिशास्त्रले हिन्दू विवाहलाई धर्मसाथीको रूपमा लिंदै धर्मसाथीलाई अपराधमा स्वतः सहअपराधी मानिदैन भन्ने उल्लेख छ । अर्थात, ‘धर्मपत्नी भएकै कारणले’ कसैलाई पनि अपराधिक दायित्व बोकाउन मिल्दैन भन्ने पुष्टि हुन्छ ।
कानुन र धर्मका आधारमा महिलाहरूप्रति भेदभाव गरिनु हुँदैन । prima facie proof’ विना यस्तो किसिमले सामान्य गृहिणी–श्रीमती बोगटी यस्तो न्यायीक र प्रशासनिक आतंकमा परिरहने घटनालाई प्रचलनका रूपमा स्थापित नगरिओस् ।

प्रतिक्रिया