निर्वाचनमुखी नागरिक सरकारको तानाशाही कार्य !


ईः ईः

अदालतको पत्र आइपुगेको छैन भनेर काठमाडौँमा कैयन् संरचना पछिल्ला केही वर्षमा कैयौं चोटी भत्काइएका थिए । त्यो अभ्यासलाई सामान्यीकरण मात्र होइन तारिफयोग्य बनाउने काम राजधानीमा भइसकेको थियो। मकवानपुरका वर्तमान प्रजिअ केही समय अगाडि काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत थिए । यो अभ्यासको स्थानान्तरण र सामान्यीकरण संयोगको विषय होइन । लोकरिझ्याईँको उन्मादमा तालीथपडी दिने अनि आफूलाई परेपछि पुर्पुरोमा हात राख्ने सामाजिक ध्वनिमत मूलरूपले दोषी छ।

राजधानीका अव्यवस्थित बसोबासीको निरन्तर अमानवीय विस्थापन र परार दुहबीमा बस्ती सोत्तर पार्दा बजेको तालीको गडगडाहटको गुञ्जनले आज लालपूर्जा भएका, राज्यलाई कर तिरिरहेका, हेटौँडाका स्थापनाकाल बासीलाई सडकमा पुर्याएको छ । यसले राजधानीका नदीखोला वरपर थप बीस मीटर लालपूर्जे सम्पति समाप्त पार्ने बाटो पनि खोलेको छ। एकजुट हुन, एकअर्काको पीडाप्रति सद्भाव राख्न अहङ्कार र सम्यक दृष्टिको अभाव बाधक छ।

विस्तारै देशैभर यो अन्याय शृङ्खलाले गति लिने निश्चित देखिन्छ। शहर क्लिष्ट सफा हुनेछन् । तर शहर सबैका लागि हुनेछैन । व्यक्तिगत सम्पतिको सुनिश्चितता तथा आमनागरिकप्रति न्यून जिम्मेवारी र करुणा नभएको देशमा सम्पति किन जोड्ने ? फर्केर किन आउने ? भविष्य कुन आधारमा कोर्ने ?

अनि जुन दिन डोजर तपाईँको वा तपाईँको कुनै आफन्तको दैलोमा आउँछ, त्यो दिन केवल यही तालीको गुञ्जनमात्र सुनिनेछ । तपाईँको लागि बोल्ने कोही बाँकी रहँदैन। सबै समाप्त वा पलायन भइसक्छन् । निर्वाचनमुखी नागरिक सरकारको तानाशाही कार्यलाई ढाकेर ढाक्न सकिँदैन । यसरी तपाईँहरूको ढाल बन्ने नैतिक सामथ्र्य कुनैपनि समर्थकमा रहन्न। ध्वङ्शमा रमाएर आफ्नै ध्वङ्शको बाटो निर्माण गर्दै जानुहुन्छ भने हामीले के भन्ने ? के गर्ने ?