-डा. रामकृष्ण तिमल्सेना ।
भीड मनोविज्ञान (Crowd Psychology) आधुनिक राजनीतिक विज्ञान, समाजशास्त्र, मनोविज्ञान र सार्वजनिक नीतिशास्त्रका मुख्य अध्ययन क्षेत्रहरूमध्ये एक हो। भीडलाई बाहिरबाट हेर्दा साधारण जन समूह जस्तो देखिए पनि यसको आन्तरिक मनोवैज्ञानिक संरचना अत्यन्त जटिल हुन्छ। सामूहिक भावना, सामूहिक उत्तेजना, साझा आक्रोश, सामूहिक डर र सामूहिक आशाले मिलेर भीड निर्णयलाई निर्माण गर्छन्। फ्रान्सेली मनोवैज्ञानिक Gustave Le Bon (1895) ले भीडलाई ‘reasoning mind dissolves and emotional mind dominates’ भनेका छन्, जसले ठूल्ठूला राजनीतिक उथलपुथलदेखि आर्थिक अव्यवस्थासम्म उत्पन्न गर्न सक्छ। समाजशास्त्री Émile Durkheim (1912) ले ‘collective effervescence’ को अवधारणाद्वारा स्पष्ट पारेका छन् कि भीडको ऊर्जा एकपटक एकै दिशामा बहन थाल्यो भने व्यक्ति स्वयं नै त्यसमा हराउँदै जान्छ। यसलाई मनोवैज्ञानिक Zimbardo (1971) ले ‘deindividuation’ को स्थिति भनेका छन्, जहाँ अनुशासन, विवेक, तर्क र व्यक्तिगत जिम्मेवारी कमजोर हुन्छ।
अन्तर्राष्ट्रिय राजनीतिक अध्ययनहरूले समेत प्रस्ट पारेका छन् कि भीड राष्ट्रहरूको भाग्य लेख्ने शक्ति हो। Ian Kershaw (1999) ले हिटलरको उदय विश्लेषण गर्दा जनताको असन्तोष, आर्थिक पीडा, राष्ट्रिय अपमान र उन्मादले निर्माण गरेको भीड मनस्थितिलाई मुख्य आधार मान्छन्। अर्कोतिर Judith Brown (1972) ले गान्धीको आन्दोलनमा भीडलाई ‘moralized crowd’ का रूपमा उल्लेख गर्छिन् जहाँ सामूहिक अनुशासन, मूल्य, सत्य र आत्मनियन्त्रणका सिद्धान्तहरूले भीडलाई सकारात्मक दिशातिर मोड्छ। यी दुई उदाहरणहरूले नै विश्व इतिहासको मूल शिक्षा दिन्छन् कि भीड स्वयं नैतिक वा अनैतिक हुँदैन, नेतृत्व, प्रशिक्षण, मूल्य र संस्थागत अभ्यासले भीडलाई कुन दिशातिर लैजाने भन्ने निश्चय गर्छ।
आधुनिक अर्थतन्त्रमा पनि भीड व्यवहारले बजारलाई चक्रपातझैँ प्रभावित गर्छ। Robert Shiller (2015) ले 2008 को आर्थिक संकटमा स्टक मार्केटको सामूहिक डर, अविश्वास र ‘herd behavior’ लाई संकटको मुख्य प्रेरक शक्ति मानेका छन्। यसैगरी पूर्वी एशियाली आर्थिक संकट विश्लेषण गर्ने Radelet & Sachs (1998) ले पुष्टि गर्छन् कि विदेशी निवेशकर्ताको सामूहिक मनोवैज्ञानिक प्रतिक्रिया कहिलेकाहीँ तथ्य र सूचकभन्दा शक्तिशाली हुन्छ। विश्व अर्थतन्त्र, राजनीति, युद्ध, क्रान्ति, सामाजिक आन्दोलन लगायत सबै क्षेत्रमा भीड दर्शनको प्रभाव अविच्छिन्न रूपमा देखिन्छ।
डिजिटल युगमा भीडको रूप झनै खतरनाक हुन्छ। सामाजिक सञ्जालमा फैलिने गलत सूचना, ध्रुवीकरण, प्रोपेगान्डा र भावनात्मक सामग्रीले आधुनिक ‘digital mob’ निर्माण गर्छ, जसको राजनीतिक प्रभावबारे Sunstein (2017) ले विस्तारित विश्लेषण गरेका छन्। क्याम्ब्रिज एनालिटिका प्रकरणमा देखिएझैँ, डाटा विश्लेषण र मनोवैज्ञानिक प्रोफाइलिङद्वारा जनमतलाई प्रभावित गर्न सकिन्छ, जसको दस्तावेजीकरण Cadwalladr & Graham-Harrison (2018) ले गरेका छन्। विश्वका धेरै मुलुकमा जनमत केवल सूचनाले होइन बरु भावनात्मक उत्तेजना र भीड डायनेमिक्सले निर्माण गरिरहेको छ।
नेपालका विस्तारित केस स्टडीहरू : भीड दर्शन, राजनीतिक अभ्यास र सामाजिक परिणाम
नेपालमा भीड दर्शनलाई नवुझी आधुनिक राजनीतिलाई बुझ्नै सकिँदैन। नेपालका पाँच प्रमुख ऐतिहासिक राजनीतिक मोडहरूमा भीड निर्णायक कारक बनेको छ (१) २००६ को जनआन्दोलन, (२) संविधानसभामा सार्वजनिक मनोविज्ञान, (३) पहिचान आधारित आन्दोलनहरू, (४) डिजिटल भीड निर्णय र (५) प्रोजेक्ट विरोध/समर्थनका सामूहिक प्रतिक्रिया। यी सबै घटनाहरूले Nepal as a case of ’emotionally volatile political culture’ (Mehta, 2006) को उदाहरण प्रस्तुत गर्छन्।
१. २०६२/६३ को जनआन्दोलन : सामूहिक आक्रोशको सकारात्मक उपयोग
नेपालको राजनीतिक इतिहासमा २०६२/६३ को जनआन्दोलन सामूहिक ऊर्जा कुन परिस्थितिमा परिवर्तनकारी बन्न सक्छ भन्ने प्रमुख उदाहरण हो। राजदरबार हत्याकाण्ड (२०५८), राजसंस्थाप्रतिको अविश्वास, शान्ति मनोविज्ञान, दमन, युद्ध थकान र लोकतान्त्रिक आकांक्षाले जनता एकैपटक सडकमा उत्रिए। सामूहिक भावना र सामूहिक आक्रोशको मिलनले ‘सिस्टमिक पारेडाइम शिफ्ट’ सम्भव बनायो, जसको अध्ययन Hachhethu (2006) लगायतका विद्वानहरूले गरेका छन्। यहाँ भीड भावनात्मक थियो, तर लक्ष्य संसदीय लोकतन्त्र पुनर्स्थापना थियो। नेतृत्वले पनि भीडलाई अनुशासित राख्न सफल भयो, जसले सकारात्मक परिवर्तन दिलायो।तर मनोवैज्ञानिक रूपमा यो आन्दोलनले एउटा स्थायी मानसिक ढाँचा बनायो ‘भीडले नै परिवर्तन गर्छ’ भन्ने विश्वास। यही विश्वासले पछि अन्य जटिल मुद्दाहरूलाई पनि सडकमा धकेल्यो, जहाँ तर्क, अनुसन्धान, लागतलाभ मूल्यांकनभन्दा भावनात्मक निष्कर्ष हावी हुन थाले।
२. संविधानसभा र पहिचान राजनीतिमा भीड मनोविज्ञान
पहिलो संविधानसभा (२०६४) विघटन हुनुको एउटा मुख्य कारण “over-mobilized expectations” थियो। पहिचान, क्षेत्रीयता, भाषा, इतिहास र न्यायको माग एकैपटक सडकमा विस्फोटित भयो। Asef Bayat (2013) ले भनेझैँ, संगठन नभएकाहरूको विद्रोहले पनि परिवर्तन ल्याउन सक्छ तर संरचना निर्माण गर्न सक्दैन। नेपालमा यही समस्या देखियो। तराई मधेश आन्दोलनदेखि लिम्बुवान, मगरात, तमुवान, थारुवान आंदोलनसमेतमा भीड उत्तेजना र स्थानीय नेतृत्वको विकेन्द्रित भावनाले राष्ट्रिय सहमतिको प्रक्रियालाई जटिल बनायो।
यस्ता आन्दोलनहरूमा तथ्यगत संवाद, वैधानिक तर्क, कानुनी संरचना र दीर्घकालीन योजनाभन्दा तत्कालिक भावनात्मक प्रतिक्रिया शक्तिशाली देखिन्छन्। फलस्वरूप, संवैधानिक प्रक्रिया भावनात्मक उतार चढाव र सडक मानसिकताद्वारा निर्देशित भयो।
३. विकास परियोजनाहरूमा भीड निर्णय : काठमाडौंबाट ग्रामीण नेपालसम्म
नेपालमा जलविद्युत्, सडक, सिँचाइ, उद्योग, मेडिकल कलेजलगायत परियोजनामा पनि भीड महत्वपूर्ण शक्ति बनेको छ। कडा तथ्य, इम्प्याक्ट अस्सेस्मेन्ट, ईन्भाइरोमेन्टल अध्ययनहरूभन्दा पनि भीडको भावनाले निर्णय रोक्ने वा अगाडि धकेल्ने उदाहरण धेरै छन्।
उदाहरणका लागि, Melamchi परियोजना चार दशक लम्बिनुमा राजनीतिक दखलभन्दा बढी जन मनस्थिति, गलत सूचना, अफवाह र भावनात्मक प्रतिरोधले भूमिका खेलेको विश्लेषण धेरै अध्ययनहरूले गरेका छन्। त्यस्तै West Seti मा पनि अध्ययन, सम्झौता, वित्त, मोडल सबैभन्दा पहिला विवाद र सामूहिक असन्तोष हावी भयो। सामूहिक मनोविज्ञान विकासको आधार बन्नुपर्ने हो तर नेपालमा कहिलेकाहीँ विकास विरोधी उर्जा बन्न पुगेको छ।
४. डिजिटल भीड राजनीति : सामाजिक सञ्जालले निर्माण गरेको नयाँ समूह मनस्थिति
नेपालमा फेसबुक, TikTok, YouTube, Twitter (X) एक प्रकारको ‘digital लोकतन्त्र’ जस्तो देखिन्छ, तर वास्तवमा डिजिटल भीड अत्यन्त भावनात्मक, खण्डित र हतारिएको समूह मनोविज्ञान बन्छ। लोकप्रियता, ट्रेन्ड, उत्तेजना, कटाक्ष, राष्ट्रवाद वा विरोध जस्ता डिजिटल उर्जाले राजनीतिक एजेंडा निर्धारण गर्न थालेका छन्। Sunstein (2017) ले भनेको ‘echo chamber effect’ नेपालमा झनै तीव्र हुँदै गएको छ। यहाँ तथ्य आधारित सार्वजनिक बहसभन्दा डिजिटल भीडको मनस्थिति पार्टी निर्णय, सांसदको अभिव्यक्ति, मन्त्रीको निर्णय र नीतिनिर्माणमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। नेपालमा ३० सेकेन्डको TikTok भिडियोहरूले पनि राजनीतिक छवि निर्माण गर्छन्। गलत सूचना केही घण्टामै भीड भावनामा परिणत हुन्छ। विश्लेषकहरू भन्छन् कि नेपालमा अहिले ‘digital populism’ को प्रारम्भिक अवस्था देखिँदैछ।
५. विदेशी स्वार्थ, भू राजनीति र भीड : नेपाललाई प्रभावित गर्ने अदृश्य शक्ति
नेपाल अन्तर्राष्ट्रिय शक्तिध्रुवबीच रहेको संवेदनशील भू राजनीतिक क्षेत्र हो। भारत चीन प्रतिस्पर्धा, अमेरिकी रणनीति, बेल्ट एण्ड रोड, MCC, इन्डो प्यासिफिक रणनीतिहरू यी सबैमा जनमत निर्णायक बनाइएको छ। कतिपय अवस्थामा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले सामाजिक माध्यम, NGO नेटवर्क, स्थानीय राजनीतिक समूह वा क्षेत्रीय भावनालाई उपयोग गरेर ‘भीड उत्तेजना’ निर्माण गरेको देखिन्छ, जुन Le Bon, Arendt वा आधुनिक डिजिटल अध्ययनहरूले व्याख्या गर्ने ‘external stimulus mobilization’ को सटीक नेपाली उदाहरण हो।
यसले दुई खतरनाक परिणाम उत्पन्न गरेको छ। पहिलो, राष्ट्रिय हित आधारित निर्णयहरू भावनात्मक राष्ट्रवाद वा भावनात्मक भारत/चीन विरोध/समर्थनमा परिणत हुन्छन्। दोस्रो, जटिल भू रणनीतिक प्रश्नहरू विशेषज्ञ बहस नभई भीड चेतनामा अल्मलिन्छन्।
नेपालका लागि मुख्य पाठ : भीडलाई रोक्ने होइन, रूपान्तरण गर्ने
भीड दर्शनले नेपाललाई एउटा अत्यन्त महत्त्वपूर्ण शिक्षा दिन्छ- भीड नै समस्या होइन; भीडलाई निर्देशन दिने मूल्य, नेतृत्व, शिक्षा, संस्थागत संरचना र सूचना गुणस्तर नै निर्णायक तत्व हो।
नेपालले सिक्नुपर्ने पाँच प्रमुख पाठ:
१. भावनात्मक राजनीतिक संस्कृतिलाई तथ्य, अनुसन्धान र वैज्ञानिक नीतिनिर्माणमा रूपान्तरण गर्नु।
२. डिजिटल भीडलाई नियमन, मिडिया साक्षरता, सत्यापन उपकरण र नागरिक शैक्षिक कार्यक्रमद्वारा सुधार गर्नु।
३. पहिचान आधारित आन्दोलनलाई विरोध होइन; तर्क, ऐतिहासिक न्याय, राम्ररी परिभाषित अधिकार र राष्ट्रिय संरचनासँग मिलाएर समाधान गर्नु।
४. राजनीतिक दलहरूले भीडलाई शोषण होइन शिक्षा, मूल्य, विवेक, रचनात्मक आलोचनाभित्र समाहित गर्नुपर्ने।
५. राष्ट्रिय हितमा आधारित निर्णयको मापदण्ड स्थापित गर्नु – भीड मोहोरा होइन, दीर्घकालीन रणनीति प्रमुख हुनु पर्छ।
नेपाली समाज केवल भीडसमृद्ध होइन; नेपाली समाज ऊर्जा, सहानुभूति, बलिदान, सामूहिकता र राष्ट्रिय चेतनाले परिपूर्ण छ। प्रश्न केवल त्यही ऊर्जा कुन दिशातिर मोडिन्छ भन्ने हो। भीड सकारात्मक भयो भने नेपालले सौम्य शान्त हिमाली चेतना, बौद्धिक क्षमता र सांस्कृतिक गहिराइको राष्ट्र निर्माण गर्छ। नकारात्मक भयो भने इतिहासले देखाएको छ कि एक गलत निर्णयले राष्ट्रहरू दशौँ वर्ष पछाडि पर्छन्।

प्रतिक्रिया