ऐजरू विचारक !


-डा. गोविन्दशरण उपाध्याय ।

हिन्दू, जैन तथा बौद्धहरूका विचमा आ–आफ्नो पक्षमा शास्त्रीय बहस हुनु स्वाभाविक कुरा थियो । अनेकौं हिन्दू, जैन तथा बौद्ध विद्वानहरूले शास्त्रीय संवादमा दोश्रो पक्ष मन परेपछि आफ्नो पक्ष त्यागेर दोश्रो पक्ष अपनाएका इतिहास छन् । हिन्दूहरू बौद्ध बनेका छन् । बौद्धहरूले हिन्दूत्व अपनाएका छन् जैनहरूले पनि हिन्दू, बौद्ध अपनाएका छन् भने हिन्दुले जैन धर्म पनि अपनाएक छन् । हिन्दूहरूले आफूलै, बौद्धहरूले आफूलाई र जैनहरूले आफ्नो मार्गलाई श्रेष्ठ भएको, सर्वोत्तम भएको र महत्वपूर्ण भएको स्थापित गर्न अनेकौं शास्त्रहरू रचना गर्ने र ती शास्त्रहरूमा आफ्ना उपास्यलाई सबैभन्दा माथिल्लो दर्जाको मान्दै अन्य धर्मका देवीदेवतालाई तिनको आश्रित मान्नु अनौठो थिएन ।

हिन्दू, जैन तथा बौद्धशास्त्रहरूमा यस्ता विषयहरू राइछाई छन् । रमाइलो कुरा के हो भने हरेक धर्मले ‘बर्चश्व’को यस्तो प्रयत्नलाई स्वाभाविक रूपमा लिन्थे । उदाहरणका लागि कन्नौजका कवि राजा हर्ष पहिले अद्वैतवादी थिए भने पछि उनी बौद्ध बने । उनले अद्वैत वेदान्तमा लेखेका र बौद्ध पक्षमा लेखेका दूवै ग्रन्थहरू उपलब्ध छन् ।

सेमेटिक धर्महरूको प्रवेशसंगै ‘शास्त्रार्थ गरेर आस्था परिवर्तन गर्ने कि नगर्ने’ भन्ने प्राचीन भारतवर्षीय परम्परामा घूसपैठ भयो । उनीहरूले भारतवर्षमा विकसित र विस्तृत भएका फरकफरक विश्वासहरूलाई ‘एकलकाटे र मेरोमात्र ठीक’ भन्ने आँखाले बुझ्ने र बुझाउने प्रयन्त गरे । उदाहरणका लागि ब्रिटिश बङ्गालका राममोहन रायले वैदिक सनातन धर्मलाई एकेश्वरवादी जामा लगाउने प्रयत्न गरे । त्यसपछि केही हिन्दू, जैन तथा बौद्धहरूले आ–आफ्नो आस्थालाई ‘सेमेटिक दृष्टिकोण’बाट व्याख्या गर्ने, बुझ्ने र बुझाउने प्रयन्त गरे, जुन आजको मितिमा पनि चलिनैरहेको छ ।

‘एउटा धर्म, एउटा धार्मिक पुस्तक, एउटा धर्मगुरू, एउटा तीर्थस्थल, एउटा भाषा र एउटा आस्था’ सेमेटिक संस्कृतिको बैचारिक आधार हो । भारतका केही संस्कृतका विद्वानहरूले सेमेटिकवादी मुस्लिम र इसाईबाट प्रभावित भएर हिन्दू, जैन तथा बौद्ध आस्थालाई सेमेटिक आँखाले बुझ्ने र बुझाउने प्रयत्न गरे । त्यतिमात्र होइन, उपर्युक्त आन्दोलनले हिन्दूलाई बौद्धबाट, बौद्धबाट हिन्दूलै, जैनलाई हिन्दूबाट र हिन्दूलाई जैनबाट सांस्कृतिक रूपमा नै ‘अलग्गिनु पर्छ’ भन्ने विखण्डनवादी, घृणावादी र विलगवादी बिचारको बीजारोपण गर्यो । आजको मितिमा नेपाल, भारतमा सेमेटिक– दृष्टिकोणको आधारमा एकै संस्कृति, एकै परिवेश र एकैप्रकारको वातवरणमा सहअस्तित्वमा रहेका ‘आस्था’मा प्रहार गर्ने समूहहरू तयार भैसकेका छन् ।

भारतमा हिन्दू–संस्कृतिप्रति घृणा फैलाउंदै ‘आफू एकमात्र सत्य बाटो भएको’ दावी गर्दै अम्बेडकरले नवबौद्ध समाजको विकास गरे । नेपालमा हालैका दिनमा यस्तै समूहहरूको विगविगी देखिएको छ । यस्तो नवबौद्धहरूको सेमेटिक–समूहले परम्परागत नेपाली बौद्ध परम्परा र साधकहरूको तेजोवध र अपमान गर्दै ‘आफूमात्र बुद्धको असली अनुयायी भएको, आफुले मात्र बौद्धधर्मको बास्तविक मर्म बुझेको र बौद्ध परम्परामा व्याप्त भएका खरावीहरू निकालेर विशुद्ध गर्न विद्याधरकोअवतारमा प्रकट भएको’ भन्दै बुद्धका उपदेशहरूलाई सेमेटिक बाटोमा ढाल्न उद्यत देखिन्छन् । ध्यान दिएर यिनका भिडियो प्रबचनहरू सुन्यो भने सजिलै बुझिन्छ कि यिनको उद्देश्य बौद्धशिक्षाको प्रचारप्रसार मभई हिन्दू र बौद्ध बीचमा खाडल उत्पन्न गराउनु हो ।

यी नवबौद्धहरू मलेसियाको अनवर अवतारसरह हुन् जसले गैरमुस्लिमहरूलाई ‘अल्लाह’को नाम लिन रोकमात्र लगाउने कानुनी व्यवस्थाको वकातल गरेका र दण्डविधि बनाएका थिए । यस्तो कानुन त्यहाँका राजाले अस्वीकृत गरेपछि पास हुन पाएन – यो फरक कुरा हो । हिन्दू र बौद्ध फरक धर्म हुन् । यी दूवैका उपासना विधिहरू फरक छन् तर यी दुवैको सहअस्तित्वलाई उपरोक्त भिन्नताले खल्बल्याउन सक्दैन भन्ने तत्थ्यको प्रमाण नेपाली समाज र सांस्कृतिक परम्परा हो जहाँ हिन्दू र बौद्धहरू एकात्म भएर पनि आया–आफ्नो परम्परामा गतिशील छन्, जीवन्त छन् । घृणावादीहरूको रीस र घृणा अर्थविहिन बनोस् ।

गुम्बा वा विहारमा साधना गर्ने रिम्पोच्छे तथा गुरूहरू आफ्नो साधनामा बढी ध्यान दिन्छन् । बौद्धशास्त्रहरूको अध्ययन, मनन र निधिध्यासन गर्छन् । उनीहरू हिन्दू कि बौद्ध जस्ता विवादहरूमा समावेश हुँदैनन् तर नव–बौद्धहरू हिन्दूलाई दोषी देखाउने, साधारण बौद्ध साधकहरूलाई दिग्भ्रमित पार्ने, परम्परागत बौद्ध साधनाहरू र साधकहरूको कर्मकाण्डलाई आलोचना गर्नेजस्ता काममा बढी ध्यान दिन्छन् । यी नबबौद्धहरूको कुरा सुन्ने हो भने सिद्धार्थ गौतमलाई नै आफ्नो चेलो बनाएर ककुच्छन्द बुद्धहरुको बाटोमा हिड्ने सल्लाह दिन्थे । यस्ता घृणावादी बौद्ध होस् वा हिन्दू वा अन्य धर्म मान्ने वा नमान्ने नास्तिक नै किन नहोस्, ऐजरू हुन् । यिनका विचारलाई निरुत्साहित नगर्दा सामाजिक र सांस्कृतिक विचलन बढ्छ ।
धर्मको जय होस् ।