काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने भएकाले त्यो आफूलाई सह्य नहुने बताएका छन् ।
बिहीबार दिउँसो आफू निकटका नेताहरुसँगको भेटमा सभापति देउवाले नियमित र विशेष महाधिवेशन नाममा विवाद नगर्न आग्रह गरेका हुन् ।
देउवाले आफ्नो नाम लिएर विवाद नगर्नसमेत नेताहरुलाई आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् । देउवाको भनाई उदृत गर्दै ती नेताले भने, ‘अहिले मैले कार्यवाहक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनबाट म हुने होइन्, मलाई किन विवादमा तानिरहेको ?’
सभापति देउवाले पार्टी मिलाएर लैजान पनि सबै नेताहरूलाई निर्देशन दिएका थिए । विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुने भन्दै देउवाले विशेष महाधिवेशन रोक्ने ढंगबाट पार्टी चलाउन निर्देशन दिएका थिए ।
देउवाले भने, ‘विशेष महाधिवेशन नगर नियमित महाधिवेशन गर । विशेषले पार्टी फुटाउँछ । पार्टी फुटेको टुटेको म हेर्न सक्दिनँ।’
त्यस्तै उनले आफूनिकट नेताहरूलाई वैशाखमा महाधिवेशन गर्ने भन्ने मिति तोक्दै नहिँड्न र महाधिवेशन जहिले गरेपनि सहमतिमा गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया