काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिक पढाउने शैक्षिक संस्थाहरूलाई जथाभावी अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको छ ।
बुधबार सूचना निकालेर विभागले कतिपय शैक्षिक संस्थाले अध्ययनमा नियमित संलग्न नहुने जानकारी हुँदाहुँदै पनि आम्दानीका लागि मात्र विदेशी विद्यार्थी भर्ना गर्ने गरेको भन्दै अध्ययन भिसा सिफारिस नगर्न निर्देशन दिएको हो ।
लामो अवधि नेपाल बस्न वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने र कानुनले बर्जित गरेका क्रियाकलापमा संलग्न विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
विभागले विदेशी नागरिकहरूलाई अध्ययन गराउने सबै शैक्षिक संस्थाहरूको नियमित अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विदेशी नागरिकहरूको गतिविधिको अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई आग्रह गरेको छ ।


प्रतिक्रिया