एमाले महासचिव भन्छन्- हामीले आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन् ।

मंगलबार राति सामाजिक संजालमार्फत महासचिव पोखरेलले एमाले लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा आत्मसात गर्ने पार्टी भएकाले नियमित रूपमा निर्वाचन आयोगमा दल दर्ता अद्यावधिक गर्दै आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तागर्दै आएको छ। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार भएको हो । अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो ।’

उनले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ। बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् । यस्तो अवस्थामा, २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको छ।’

नेकपा एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।