जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छः प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ । यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपील गर्ने छौ । राजनीतिक दलहरुलाई अपील गर्नेछौं र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौं । दबाब पनि सिर्जना गर्ने छौं र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छौ ।’

उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको बताए ।

उनले ढिलो–छिटो सबै सच्चा कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादीहरु नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा जोडिने दाबी गरे ।

साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरुको लागि काम गर्नेतर्फ लागेको पनि बताए ।