पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणामा सामेल भयौंः जनार्दन शर्मा


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर नयाँ पार्टी बनाएको बताएका छन् ।

आइतबार राष्ट्रियसभा गृहमा पार्टी एकता सभालाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील  लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएको बताएका हुन् ।

उनले दृढ संकल्प, पूर्ण आत्मविश्वास र उच्च नैतिक मूल्यका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेको बताए । उनले विगतका कमी कमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा त्यसलाई दोहोरिन नदिने पनि बताए ।

शर्माले सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए । उनले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ।’

उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्रोहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य बनेको बताए । उनले प्रगतिशील पार्टी राजनीतिक पुनःसंरचनाका लागि गठन भएको र त्यसका लागि सम्मेलन गर्ने बताए ।

शर्माले संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणाली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

उनले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताए ।

उनले भने, ‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

त्यस्तै उनले दलहरुले भ्रष्टाचार,नातावाद कृपावाद,दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्बा बनाएको आरोप लगाए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलिय स्वार्थ र दलिय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई थियो । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दाबी गरे ।