मोहनविक्रम सिंहद्वारा जेनजी आन्दोलनबारे १२ बुँदे अवधारणा प्रस्तुत


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जेनजी आन्दोलन हुनुका पछाडिका कारणबारे १२ बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।

शनिबार सार्वजनिक अवधारणापत्रमा देशको राजनीति र आन्दोलनलाई समेत सही दिशा निर्देशन गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख छ । “हामीले उपर्युक्त परिस्थितिमा सही दिशा निर्देशन गरेर देशलाई अगाडि बढाउनुपर्छ, अन्यथा देश अप्ठेरोमा पर्न सक्छ”, अवधारणापत्रमा भनिएको छ । 

विघटित प्रतिनिधिसभाको पुनःस्थापना वा नयाँ चुनाव दुवै अवस्थामा बहुदलीय व्यवस्थाको रक्षा वा उपयोग हालका लागि सही नीति हुने पनि अवधारणा पत्रमा समेटिएको छ । यस्तै, मुलुकमा पटक–पटक हुने घटना  र आन्दोलनमा देशभित्रका राजनीतिक गतिविधि र ‘जेनजी’ प्रदर्शनसँगै अन्तरराष्ट्रिय परिप्रेक्षमा पनि हेर्न र बुझने प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पार्टीद्वारा आयोजना गरेको ‘नेपालको तात्कालीन राजनीतिक परिस्थिति र जेनजी आन्दोलन’ विषयक  कार्यक्रममा नेकपा ( मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रदर्शनका क्रममा  युवा विद्यार्थीमाथि भएको दमन र घुसपैठमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने, “सिहदरबार र सर्वाेच्च अदालत आगजनी हुँदा कैयौँ ऐतिहासिक र अन्तरराष्ट्रिय महत्त्वका दस्ताबेज ध्यस्त भए, यस प्रकारका अपराधजन्य घटनाको छानबिन गरी दोषिलाई सजाय दिनु धेरै आवश्यक छ ।”

महामन्त्री सिंहले देशी–विदेशी शक्तिले नेपाललाई अस्थिर तुल्याएर आफना  स्वार्थ पूरा गराउन प्रयत्न गरिरहेकाले यस्ता घटनाका पछि त्यसखाले स्वार्थ लुकेको हुन सक्नेतर्फ सबै चेतनशील र प्रबुद्ध समूहको ध्यान जान आवश्यक रहेको पनि जिकिर गरे । 

उनले नेपालको भविष्य पनि ‘जेनजी’ पुस्तामाथि निर्भर रहेको बताउँदै त्यसका लागि उनीहरू उच्च प्रकारको दर्शन, सिद्धान्त, नीति, कार्यक्रम वा देश र जनताको सेवाको भावनाद्वारा निर्देशित हुनुपर्ने बताए ।

पार्टीका उपाध्यक्ष एवंम संविधानसभा सदस्य दुर्गा पौडेलले देशका पुराना राजनीतिक दलका कमजोरी, भ्रष्टाचार र सामाजिक सञ्जाललाई निस्कृय तुल्याइएको विषय उठान गरी भएको जेनजी प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको पक्षलाई गम्भिरतापूर्वक लिन आवश्यक रहेको बताइन् । उनले भनिन्, “युवा पुस्ताले पनि जोश, होससँगै परिपक्कता देखाउन आवश्यक छ ।”

वामपन्थी नेता डा विजय पौडेलले राजनीतिक दल र नेताले देश विकासका लागि आवश्यक पर्ने कृषि, औद्योगिक क्रान्ति, रोजगारीका विषयमा बहस केन्द्रित गर्नुपर्नेमा व्यक्ति विशेषलाई पार्टी सदस्य दिने कि नदिने भन्नेमा अल्झिदा मुुलुकले अनावश्यक क्षति बेहोर्नुपरेको प्रतिक्रिया दिए ।