नारायण गाउँले ।
कुनै बेला शहरको शान र समृद्धिको प्रतीक भएर उभिएको भाटभटेनी आज अँगार मात्रै भएको छैन, भरतपुरको सभ्यता, राजनीति र चेतनालाई गिज्याउँदै उभिएको छ । यसले आफ्नो जीवनकालमा थुप्रैलाई रोजगारी दिएको थियो, भरतपुर ओरालोलाई पहिचान दिएको थियो, कैयौं स्वदेशी उद्योग र उत्पादनलाई बजार दिएको थियो ।
यो एउटा ‘ठूलो पसल’ मात्रै थिएन, धेरै आमाबुबालाई पहिलोपल्ट विद्युतीय सिँढीको अनुभव लिने र भाँडा पसल पनि यति सफा र भव्य हुन सक्छ भन्ने अनुभव लिने ठाउँ पनि थियो । हाम्रो पुस्ता यस्तै ’एस्केलेटर’ चढ्नकै लागि काठमाडौंको विशाल बजार पुग्ने गरेको अझै याद होला । सबै सामान एकै ठाउँमा पाइनु, पार्किङदेखि ट्वाइलेटसम्मका सुविधा हुनु र आफैं रोजेर अनि मूल्य हेरेर सामान किन्न पाइनुले सहजता त दिने नै भयो, विदेशको भव्य रमझम देखेर फर्किनेलाई पनि भाटभटेनीले नेपाल पनि बन्दै छ भन्ने सान्त्वना दिन्थ्यो । देशमा लगानी गर्न चाहनेहरूका लागि मञ्च दिन्थ्यो, प्रेरणा दिन्थ्यो र सफलताको उदाहरण दिन्थ्यो ।
आज यो कङ्काल बनेर उभिएको छ । त्यो दिन बिहानैदेखि यसलाई जलाउने प्रयास भएको रहेछ । केही स्थानीय बौद्धिक र सचेत वर्गले धेरैपल्ट रोकेका पनि रहेछन् । तर साँझसम्म हाम्रो चेतना र मानवता पराजित भएर यसमा आगो लाग्यो । विध्वंशक समूहले जितेको त्यो क्षण देख्ने धेरै छन्, आगो र पेट्रोल बोकेर उभिनेको अनुहार धेरैलाई थाहा छ । तिनलाई कठघरामा नउभ्याई यो शहरको दाग मेटिन मुश्किल छ ।
एक दिन यो फेरि उभिएला, सुन्दर देखिएला र भरतपुरको अनुहारबाट त दाग पुछिएला । तर हाम्रो सोच र चेतनामा लुकेको आगो र कालोपन यत्तिकै कसरी पुछिएला र !

प्रतिक्रिया