काठमाडौं । यो पुलका लागि माटो परीक्षण हुँदा तीस मिटर गहिरो फाउन्डेशन बनाउनुपर्ने देखिएको रहेछ । ठेक्का दिने बेला १४.५ मिटरमात्रै भए पुग्ने गरी स्वीकृति भएछ । अनि ठेकेदारले बनाउने बेलासम्म जम्मा ८ मिटरको बनाएछ । ठ्याक्क उद्घाटन गर्ने बेलाचाहिँ दुई वटा पिलर भाँचिएपछि यो पुलले हाम्रो सुशासनलाई गिज्याएर ङिच्च हाँसिरहेछ ।
अझ उदेक लाग्दो त अर्को पाटो रहेछ । तपाईंको भाइको रगत रिपोर्ट हेरेर तपाईंलाई औषधि चलाइयो भने के होला ? झन्डै आधा किलोमिटर लामो यति ठूलो पुल र प्रोजेक्टको डीपीआर नै नक्कली रहेछ । अर्कै पुलको विस्तृत प्रोजेक्ट रिपोर्टलाई नाम मात्रै फेरेर प्रस्तुत गरिएको रहेछ । हाम्रो सरकारी संयन्त्रले त्यसलाई पास गरेका रहेछन् । यस्तो राष्ट्रिय महत्त्वको पूर्वाधारमा यतिसम्मको लापरवाही र धोकाधड़ी त शायदै अन्त कतै होला । अख्तियारको रिपोर्टमा यस्तो खुलासा भएको हो ।
ठेक्का अनुसार आजभन्दा ११ वर्षअघि नै बनिसक्नुपर्ने हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्षदेखि ‘बन्दै’ छ । २०६८ सालमा शिलान्यासमा भएको पुलसँग पप्पू कन्ष्ट्रक्शन जोडिएको थियो । देशको ठूलो जनसङ्ख्या र कृषियोग्य जमीन तराईमैं छ । यो पुल नबनेका कारण लाखौं नागरिक पीडि़त छन् । देशले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । यो हुलाकी राजमार्ग देशको लाइफलाइन जस्तै हो । हरेक पल्ट चुनाबी मुद्दा पनि हो । भारतसँग हरेक पल्ट सहयोग मागिएको र धेरथोर गरेको पनि छ । तर हाम्रो सुशासनले गर्दा हाल यस्तो छ । यस्तो नियत र नियति भएपछि सहयोग गर्नेले पनि कुन मनले गरोस् ?
यो पुल कुनै वर्षमा मर्मत त होला, तर डिजाइन र इन्जिनियरिङ नै फल्ट भएको पुल कति टिक्ला र सुरक्षित होला ? ठेक्का अनुसार पाँच वर्ष टिके पुग्ने रहेछ ।

प्रतिक्रिया