भाँडिएको नेपाली समाज


-डा. युवराज संग्रौला ।

नेपाली समाजका सामाजिक विघटनका पक्षहरू गम्भीर छन् । हामीले राजनीतिलाई मात्र अहिलेसम्म छलफल र विमर्शको विषय बनायौं, र समाजभित्र मानिसमा मौलाएका विषाक्त चिन्तन, मनोबि.वज्ञान, निरासा, आक्रोश, अपराधी प्रवृत्ति र इष्र्या र द्वेषका बारेमा सरोकार राखेनौं । आजसम्म आइपुग्दा, नेपाली समाज गोठालाहीन भेडीगोठ जस्तो बन्दैछ ।

१. लागू पदार्थको दुव्र्यसनः मैले एक वर्ष अगाडि गाउँ गाउँमा फैलिएको लागुपदार्थको दुव्र्यसनको बारेमा लेखेको थिएँ । एउटै घरमा तीनपुस्ता दुब्र्यसनी पनि छन् भन्ने जानकारी उल्लेख गरेको थिएँ । तर हामी के कुरा बुझिरहेका छैनौं र यो कुरामा हाम्रो ध्यान गएको छैन भने ‘समाजको विघटनलाई वेवास्ता गरेर राजनीति र विकासका कुरा गर्नु पानीको जोहो नगरी भात पकाउने योजना जस्तै हो । राजनीति र विकासका योजनाले समाजको परिवर्तन र पुनर्संरचनाको मार्गचित्र बनाउन सक्नुपर्छ। तर हाम्रो राजनीतिको यसतर्फ कुनै ध्यान छैन ।

२. घृणा र परपीडनको मौलाउँदो मनोरोगः नेपाली समाजमा अरुको उछितो काढ्ने, विनाश गर्ने र सामाजिक अवसानको लागि जेसुकै गर्ने मनोवृत्ति माहामारीकै रुपमा मौलाएको छ। मानिस आफ्नो विकास र उन्नतिप्रति चिन्ता गर्दैन तर अरुको विनाशप्रति तत्पर छ । मानिसलाई प्रतिस्पर्धामा विश्वास छैन, विनाशमा विश्वास छ। नेपाली राजनीतिलाई यसको चासो छैन। यसको व्यवस्थापन कसरी गर्ने हो कसैको सरोकार हुन सकेन।

३. जातीय द्वेश र घृणाको खेतीः अरुजस्तै नेपाल पनि आधुनिक संसारका प्रविधिमा बाँचेको छ। हातमा मोबाइल छ। घरमा लुगा धुने मेसिन छ। भान्सामा माइक्रोवेभ छ। सबैथोक छ। संसारभरका काला, सेता, पहेँला सबै मानिस देखेको छ । संसार पनि पुगेको छ। तर देशभित्र ‘अनुहार र जन्म’लाई आधार बनाएर जात र धर्मका नाममा साम्प्रदायिकताको खेती गर्ने संगठित नश्लवादीहरु मौलाइरहेका छन् । नेपाली राजनीतिको यो अपराधप्रति सरोकार देखिएको छैन।

४. अन्धविश्वासको मनोग्रन्थः आधुनिक प्रविधि र अन्धविश्वासको गजवको गठजोड छ । अन्धविश्वास त जिउँदै छ, तर प्रविधिको प्रयोग पनि अन्धविश्वासकै सेवा गर्छ । नेपालीहरु एकातिर चरम भौतिक सुखभोगको कामनामा लिप्त छन्, अर्कोतिर उनीहरु आस्थाका नाममा कठमुल्ला बनेका छन् । हाम्रो शिक्षा उद्देश्यही न देखिन्छ। शिक्षा नवउपनिवेशवादको दास बनेको छ र हरेकदिन स्युडो (अन्ध र लघु) दिमागको खेती गरिरहेको छ। यस खतरनाक रोगप्रति राजनीतिको सरोकार छैन।

५. श्रमप्रतिको आलसी, मर्दो देशभक्ति र विना मेहनत धनकमाइको धोकोः हरेक मानिसलाई कमाउनु छ, तर एकैचोटी धेरै, लुटेर होस् वा चोरेर । श्रम बिनाको कमाइ र अतृप्ति सुखका लागि देखावटी उपभोग । यही प्रवृत्तिले नेपालीको कमाइको ९४% प्रतिशत खर्च हुन्छ। यो अर्को महारोग प्रति पनि नेपाली राजनीतिमा कुनै सरोकार छैन।

६. नेपाली दिमागको सैद्धान्तिक र वैचारिक बाँझोपनः वर्तमान नेपाली समाज दर्शन, वाद, विचार र विमर्शप्रति उदासिन छ । राजनीति, विकास, परिवर्तन कुनै कुरामा मानिसलाई सिद्धान्त र विचार चाहिँदैन भन्ने भ्रम जताततै छ । मानिस राजनीतिमा असफल भयो तर ऊ आफ्नो चिन्तन र विश्लेषणमा होइन सिद्धान्तमा त्रुटि देख्छ । संसारको कुनै देश सिद्धान्त र विचार विना विकास भएको छैन । आफूलाई महान ज्ञानी र सभ्य ठान्नेहरु अमेरिका र सिंगापुरको उदाहरण दिन्छन् । तर, अमेरिका पुँजीवादमा विश्वास गर्छ र सिंगापुर प्रयोजनवादमा । नेपालमा वामपन्थीहरु नवउदारवादी छन् र क्षेत्रीयतावादीहरु समाजवादी । नेपालले के मा विश्वास गर्ने ? कुनै सिद्धान्त छैन तर अहिले राजनीति दलमा कुँदेका मानिस साधुहरु मस्जिद र मुल्लाहरु मन्दिर कुँदेको भान हुन्छ ।

समाजका यी विघटक अन्तर्यहरुको लेखाजोखा नगरी कुनै राजनीति शक्ति आफ्नो आकांक्षामा सफल कसरी हुन्छ र ? नेपालमा अहिले हरेक व्यक्ति छेपारो जस्तै छ । ऊ जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन । गोठाला विनाको भेडा जता हरियो देख्यो त्यतै जान्छ । यसरी ऊ एक्लिन्छ र हराउँछ । समाजशास्त्र नबुझ्ने राजनीतिले अर्थशास्त्र बुझ्न सक्दैन र ‘समाजशास्त्र र अर्थसास्त्र नबुझ्ने राजनीतिले केवल सत्ताका भोका र स्वार्थी मानिस नेता’ मात्र जन्माउँछ ।