भिडियोमा हेर्नुस्, मधेशमा मुख्यमन्त्री नियुक्तिलाई लिएर असन्तुष्ट समूहको वितण्डा


जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद हुँदा सुरक्षाकर्मी र कर्मचारीमाथि हातपात गरिएको छ ।

मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्ट समूहले प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको हो । सोमबार मधेशका मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी र कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरिएको हो ।

त्यस्तै उनीहरुले मुख्यमन्त्री यादवको निवास र प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका छन् । उनीहरूले मुख्यमन्त्री निवासअगाडि रहेका गामला तथा कुर्सीहरूमा तोडफोड गरेका छन् ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेससहितका दलले विरोध गरिरहेका छन् । उनीहरुले निर्णयविरुद्ध सर्वोच्च जाने तयारीसमेत गरेका छन् ।