अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य


-डा.गोविन्द एस उपाध्याय ।

जब कुनै समाजमा राजनीतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् । अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ । अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको जगजगी बढ्छ । सबै भन्दा चिन्ताजनक तत्थ्य के हो भने धेरैजसो अन्धविश्वासका क्रियाकलापहरू धार्मिक आवरणमा विकसित हुन्छन् । हामीले बुझ्नुपर्छ कि अन्धविश्वासको आधार अन्धविश्वास हुन्छ । धार्मिकता त्यसको आवरण हुन सक्छ तर सद्गुणहरू (धर्म) अन्धविश्वास होइनन् ।

अब नेपालको कुरा गरौँ, २०४७ को राजनैतिक परिवर्तनपछि नेपाली समाजले विकासको ठुलो अपेक्षा गरेको थियो । नेपाली नेताहरूले नेपाललाई विकसित राष्ट्रको श्रेणीमा पुर्याउने विश्वास दिलाएका थिए । तर माओवादी विद्रोह र त्यसपछि राजनैतिक परिघटनाले मान्छेहरू ज्यादै निराश भए । देश र समाज विकसित हुनुको सट्टा अझै गरिवी, अनिश्चय तथा राजनैतिक अस्थिरताको भुमरीमा फसिरह्यो । कुनै पनि राजनैतिक दलका नेता वा कार्यक्रताले यस्तो अव्यवस्थाको लागि क्षमा माग्नु त कता हो कता एकले अर्काउपर औंला ठड्याए र दोषारोपण गर्न थाले । यदि यस्तो आपसी दोषारोपणले काम चलेन भने ‘विदेशी शक्तिको खेल’ विदेशीलाई दोषारोपण गर्न थाले । अहिले पनि यही चलिरहेको छ ।

जबजब देश र समाज अनिश्चय र निराशाको बन्दी हुन्छ, समाजमा मानसिक स्वास्थ्यसम्बधि समस्याहरू ह्वात्तै बढ्छन् । अहिले नेपाली समाजमा देवी चढ्ने, देउता चढ्ने र देवीदेवता चढेको बेलामा अनर्गल भविष्यवाणी गर्नेहरूको लर्को चलेको छ । यही मानसिक तरलताको अवसर छोपेर परम्परागत ज्योतिषलाई वदनाम गर्ने गरी केही युत्युबे ज्योतिषीहरूले पनि अनार्गत तथा निराशामूलक अन्धविश्वासहरू फैलाइरहेका छन् । धर्मको आड लिएर अन्धविश्वास फैलाएर समाज र व्यक्तिलाई अन्धविश्वासप्रति विश्वास जगाउने काम भइरहेको छ । कुनै पनि वैदिक, बौद्धशास्त्रहरूमा दीर्घकालसम्म देवीदेवता मान्छेमा ‘चढ्ने र त्यसका माध्यमबाटबाट भविष्यवाणी गर्ने’ उल्लेख छैन । दैवीशक्ति प्राप्त महात्माहरूले समाज वा व्यक्तिलाई अहित हुने कुनै पनि भविष्यवाणी गर्दैनन् ।

सत्य के हो भने जवजव मान्छेको मनमा आफ्नो वर्तमान र भविष्यप्रति अनिश्चितता, अविश्वास तथा सङ्कट अनुभव हुन्छ, चर्चहरूमा, मस्जिदहरूमा, मन्दिरहरू र बाबाहरूकोमा मान्छेको भीड बढ्छ । नयाँनयाँ जोगीका अवतारहरू उत्पन्न हुन्छन् । फरकफरक शैली र आवरणमा ‘सङ्कटमुक्तिका पसलहरू’ खुल्छन् । मान्छेहरू अस्थिर, अनिश्चय र निराशाले भरिएको मन ती पसलहरूको ग्राहक बनेर केही क्षणका लागि भए पनि समस्याहरूबाट उन्मुक्तिको अनुभव गर्न चाहन्छ । केहीबेर आनन्दको अनुभव गर्न चाहन्छ । केहीबेर खुसी हुन चाहन्छ ।

परापूर्वकालदेखि आफूले स्वाभाविक रूपमा मान्दै आएका, पूज्दै आएका र आराधना गर्दै आएका देवीदेवताको आराधना गरौँ । आफ्ना कुलदेवता, इष्टदेवता तथा गुरूहरूको सम्मान गरौँ । यसमा कुनै खराबी छैन । तर एकाएक चर्चमा आएका र ‘सबैप्रकारका समस्याहरूबाट मुक्ति दिने जादुको छडी बोकेका’ देशी–विदेशी बाबा/बाबीहरूले फैलाउने अन्धविश्वासमा विश्वास नगरौं । उनीहरूले हाम्रो मानसिक अस्थिरता, अशान्ति र निराशामा खेल्दै आफ्नो दुनो सोझ्याईरहेका छन् । हामी जतिधेरै ती ‘सुकिलामुकिला’हरूमा विश्वास गर्छौं, त्यतिनै दलदलमा फंस्ने छौँ । यदि तपाईंको घरमा, समाजमा देवीदेउता चढेका व्यक्ति देखापर्छन् भने उनीहरूलाई मनोबैज्ञानिक परामर्श वा चिकित्साको आवश्यकता छ । उनीहरू स्वयं मानसिक अस्थितरता र निराशाले प्रभावित व्यक्ति हुन् । उनीहरूले तपाईंलाई सहयोग गर्न सक्दैनन् ।

जेनजी आन्दोलनले नेपाली मनोविज्ञानमा अझै बढी अशान्ति, अस्थिरता, अनिश्चितता र निराशा नित्याएको हुन सक्छ । यो जेनजी आन्दोलनप्रतिको आरोप होइन । देश र जनताले लामोसमयदेखि अस्थिरता र अनिश्चय भोग्दै आएको अवस्थाले निर्मित मानसिक अवस्था हो । यस विषयमा जेनजी तथा राजनीतिक दलहरूको नेतृत्व र कार्यक्रताले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । जेनजी–आन्दोलनले देशलाई सकारात्मक रुपान्तरणमा लैजान सकेन भने जनतामा ‘अन्धविश्वास’प्रतिको अभिरुचि अझै बढ्ने छ ।

उदाहरणका लागि आजभोली इसाईहरूले समस्या निवारण गर्छौं भन्दै ‘चंगाई’का कार्यक्रम्हरू सघन बनाएका छन् । चंगाई होस् नहोस्, जनताको मानसिक पीडामा खेलेर धर्मपरिवर्तन गर्ने व्यापार भने राम्ररी फस्टाएको छ । यस्तो सबैतिर हुन सक्छ ।
देशमा राजनीतिक अस्थिरता हुँदै मान्छेको मानसिक शक्ति पनि अस्थिर हुन्छ । यो प्राकृतिक तत्थ्यलाई स्वीकार गर्ने र आफू र आफ्नाहरूलाई यस्तो प्रभावबाट न्यून प्रभावित हुने अभ्यास गर्नुपर्छ । युट्युवे भाइरल ज्योतिषीका कुरा सुनेर, देशको अस्थिरताका कारण मानसिकरूपमा अस्वस्थ्य भएका ‘बाबा/बाबी’हरूको कुरामा पत्याएर, सुकिलामुकिला विदेशी सेलेब्रेटी बाबा/बाबीहरूको पछि लाएर हाम्रा समस्याहरू समाधान हुँदैनन् । उनीहरूले ब्युजिनेश गर्छन्, हामी अन्धविश्वासमा फंस्छौँ ।
धामीझाक्री, झारफुक, मन्त्र – हाम्रा परम्परा हुन् । आवश्यकताअनुसार यिनको सेवा लिनुपर्छ तर अनावश्यक भरोसा र भर पर्न हुँदैन । आफ्नो र आफन्तको मानसिक स्वास्थ्यमा भर परौं । आवस्यक परे मनोबैज्ञानिक वा मनोचिकित्सकसँग सल्लाह/सुझाव लिउँ ।