वैकल्पिक शक्तिहरु एक नभई पुरानै दलहरू पुनः सत्तामा फर्किने र प्रतिक्रान्तिको खतरा उत्पन्न हुने अर्यालको चेतावनी


काठमाडौं । चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले शासकहरुले आफ्नो भविष्य बर्वाद पारेकाले जेनजी आन्दोलन भएको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलन हिंसात्मक बनेपछि जेनजीले २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो ।’

उनले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई २४ गतेको घटनाले राजीनामा दिन बाध्य पारेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुःखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो ।’

उनले सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई बढावा दिएको उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा रास्वपा २०८४ मा मतबाटै निलो क्रान्ति गर्ने योजनामा रहेको तर जनेजीले रातो क्रान्ति गरिदिएको उल्लेख गरेका छन् ।

अर्यालले पुराना शक्तिहरू पुनः टाउको उठाउने प्रयासमा रहेको समेत उल्लेख गरेका छन् । उनले परिवर्तनका संवाहक र जेनजी पुस्ताको शक्ति एउटै मोर्चामा नउभिए पुरानै दलहरू पुनः सत्तामा फर्किने र प्रतिक्रान्तिको खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई समयमै निर्वाचन गराउन सबै दलहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले एउटा नयाँ पुस्ताले तय गरेको एजेन्डा र मूल्यसँग पुराना दलहरू पराजित भइसकेको जनाउँदै रास्वपा नवपुस्ताका माग र दृष्टिकोणसँग उभिएको दल भएको दाबी गरे । उनले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गर्ने बताए ।

प्रतिवेदनमा भनिएको छ, ’रास्वपाको तत्कालीन अर्जुनदृष्टि आगामी चुनाव केन्द्रित हुनुपर्छ। र, पार्टीले आफ्ना नीति, कार्यक्रम र संगठनात्मक गतिविधि यसैतर्फ निर्देशित गर्नुपर्छ ।’