चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन् । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै उनले अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताइन् ।
उद्योगी व्यवसायीहरूले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, ‘प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।’ देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रस्ट पारिन् ।
त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा के–के सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् ।
कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भनिन्, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”
बिना तयारी कानुन संसोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उनले भनिन्, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फाष्टट्रयाक’बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उनले अब कानुन निर्माणको चरणमा पुगेको बताइन् ।

प्रतिक्रिया