कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व संकलन


कर्णाली । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

उनका अनुसार आव ०८१/८२ मा ४९ हजार ९६४ सवारी कारबाही गरी रु तीन करोड ६७ लाख ४३ हजार राजस्व असुली गरिएको थियो । उनले भने, “कारबाही सङ्ख्या र राजस्व संकलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजस्व संकलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउन लागिपरेका छौँ ।” आव ०८१/८२ को तुलनामा आव ०८२/८३ मा सवारी कारबाही २३ प्रतिशत र राजस्व संकलन २० प्रतिशतले कमी आएको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर १०१ सवारीसाधन दर्ता हुन्छन् । यस्तै, तीन दशमलव २७ प्रतिशत सवारी दुर्घटना हुन्छ । प्रदेशका सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको विवरण छ ।

प्रदेशभर एक हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल, सात हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा नौ हजार ६८७ किलोमिटर सडकमा सवारी सञ्चालन हुन्छ ।

कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८ दशमलव ८३ जना छ । एक जना प्रहरीले ४५ किलोमिटर सडक हेर्नुपर्दछ । हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उनले जानकारी दिए ।

कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका विशेषगरी दुईपाङ्ग्रे ६२ प्रतिशत सवारीसाधन तीव्र गतिका कारण अपराह्न १२:०० देखि साँझ ६:०० बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताए। उनका अनुसार गत आव ०८२/८३ मा ट्राफिक नियम पालनासम्बन्धी आठ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर पाँच लाख ६९ हजार २०६ नागरिक लाभान्वित भएका थिए ।