बहुवर्षीय बजेटका विषयमा यस्तो छ पूर्वाधारमन्त्री लम्सालको स्पष्टीकरण


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले लम्सालले सरकारले एक वर्षे नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको बताए । उनले बहुवर्षीय बजेटमार्फत समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाएर ठेक्का प्रक्रियामा लाग्ने समय घटाउने लक्ष्य राखिएको जानकारी दिए ।

उनले ठेक्का आह्वान गर्न सामान्यतया ६–७ महिना लाग्ने भएपनि एउटै प्रकृतिका कार्यक्रमहरूलाई एकैपटक ठेक्का प्रक्रियामा लैजाँदा तीन वर्षसम्म लाग्न सक्ने समयलाई ६–७ महिनामै सीमित गर्न सकिने बताए ।

उनले भने,‘ बहुवर्षीय बजेट किन बनायौं भने हामीले अहिले करिब–करिब ६ देखि ७ महिना एउटा टेन्डर खोल्नका लागि लाग्छ । त्यो किन लाग्छ भने सायद क्लियरेन्स भएको हुँदैन, डीपीआर भएको हुँदैन । एउटै नेचरका कार्यक्रमहरूलाई हामीले एकैचोटी टेन्डर खोल्यौं भने र फरक–फरक वर्षमा टेन्डर खोल्यौं भने फरक के पर्छ भने, एकैचोटि टेन्डर खोल्दा हामीले जो तीन वर्षमा लाग्ने १८ देखि २१ महिनाको समय छ, त्यो खुम्चिएर ६ देखि ७ महिनामा मात्र सीमित गर्न सकिन्छ। र हामीले १२ देखि १४ महिना काम गर्ने समय बचत हुन्छ ।’

उनले चालु आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ रहे पनि करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको जानकारी दिए ।