काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा प्रचार गरिएको टिप्पणी गरेका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए।
उनले ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए।
अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे ।
उनले भने,‘कसैले गर्न नसकेको आँट यो सरकारले गर्यो भनेर पनि लेखिदिनुपर्यो । ५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ, पाँच प्रतिशत पनि होइन् । ५० युनिट निःशुल्क छ । त्यसमा ट्याक्स जम्मा तीन प्रतिशत हो । बिल ८–९ सय उठ्दा जम्मा २४ रुपैयाँ तिर्ने हो । यहाँ आकाश नै खसेको जस्तो गरेर प्रचार गरेको देख्छु । उर्जा मन्त्रालयको बजेट ८५ अर्ब छ । तीन हजार तिर्दा जम्मा १०२ रुपैयाँ हो । आकाश खस्दैन् । ठूलो लगानी गर्दैछौं । ५० लाखभन्दा मुनीको इभिमा मूल्य घट्दै छ, बजेटमा सानो नोट छुटेको रहेछ ।’
उनले यस वर्षको बजेट निर्माणमा समय र स्रोत दुवै चुनौतीका रूपमा रहेको बताए । चैत्र महिनाको बीचमा सरकारमा आएर जेठमा बजेट ल्याउनुपरेकाले पर्याप्त समय नपाएको उनको भनाइ थियो ।
बजेटमा समावेश नभएका धेरै विषयमा समेत छलफल भएको तर पर्याप्त अध्ययन आवश्यक ठहरिएका विषयलाई आगामी वर्षका लागि राखिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले दुई तिहाइ बहुमतको सरकार भएकाले जनअपेक्षा उच्च रहेको स्वीकार गर्दै स्रोत र क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको बताए। उनले सरकारले ऋणमा आधारित बजेट नल्याएको दाबी गर्दै आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको बताए।

प्रतिक्रिया