रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य


बागमती। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन्।

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन्।

मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन्। बन्द उद्योगहरु सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताइन्।

मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयसँगै रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको निरीक्षण गरिन्। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख संगिता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराइन्।

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठान छन्।