अर्थ मन्त्रालयका सहसचिव खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन


काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ ।

सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थमन्त्रीले संघीय संसद्मा पेश गर्ने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न समिति गठन गरेको हो ।

समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । समितिमा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ ।

जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् । यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ ।