एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या उत्साहजनक


काठमाडौँ । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।

तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको करिब ३५ दशमलव चार प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन् ।

श्रीलङ्काबाट १० हजार ७५९, बङ्गलादेशबाट चार हजार ६७६ तथा सार्क अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए । 

अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट छ हजार २० र थाइल्याण्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन् ।

जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, यो कुल आगमनको करिब २७ दशमलव सात प्रतिशत हो ।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएका बोर्डले जनाएको छ ।

मार्च/अप्रिललाई पर्यटकीय मौसम, ट्रेकिङ यामलगायत पक्षका कारण पर्यटकको आगमन वृद्धि हुने महिनाका रूपमा हेरिन्छ । यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किंदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ का कारण उल्लेख्य वृद्धि हुनसकेको छैन ।

विशेषगरी यो याममा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको सङ्ख्या बढ्ने बोर्डले जनाएको छ ।