ग्रामीण पर्यटनमार्फत स्वदेशमै अवसर सिर्जनाको सन्देश


काठमाडौँ । रोटरी क्लब डिल्लीबजारको नियमित बैठक यसपटक विशेष रूपमा सम्पन्न भयो । कार्यक्रममा अतिथि वक्ताका रूपमा ग्रामीण पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय पर्यटन अभियन्ता तथा प्रेरक रामसुन्दर बकेको उपस्थिति रह्यो । उनले ग्रामीण पर्यटनको सम्भावना, चुनौती र अवसरबारे व्यवहारिक तथा प्रभावकारी धारणा प्रस्तुत गरे ।

आफ्नो मन्तव्यका क्रममा उनले रोजगारीको खोजीमा विदेशिएका नेपाली युवाहरूलाई स्वदेश फर्किएर गाउँघरमै उपलब्ध स्रोत र सम्भावनाको उपयोग गर्न आग्रह गरे । प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके ग्रामीण पर्यटनमार्फत दिगो रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो ।

उनले नेपालको मौलिकता नै पर्यटनको मुख्य आकर्षण भएको उल्लेख गर्दै स्थानीय खाना, संस्कृति र परम्परालाई आधुनिक बजारसँग जोड्न आवश्यक रहेको बताए । विदेशी पर्यटकहरू विशेषतः स्थानीय जीवनशैली र स्वादप्रति आकर्षित हुने भएकाले यस क्षेत्रमा थप ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

बकेले बोरा बाँध क्षेत्रको उदाहरण प्रस्तुत गर्दै सुनसान र उपेक्षित स्थानलाई योजनाबद्ध प्रयासबाट आकर्षक पर्यटन गन्तव्यमा विकास गर्न सफल भएको अनुभव सुनाए । यसले नेपालका अन्य दुर्गम क्षेत्रहरूमा पनि पर्यटनमार्फत आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावना देखाएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी सदस्यहरूले उनको प्रस्तुतीलाई प्रेरणादायी र व्यवहारिक भएको बताएका थिए । ग्रामीण पर्यटनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न उनका अनुभव उपयोगी भएको उनीहरूको प्रतिक्रिया थियो ।

कार्यक्रमको अन्त्यमा प्रेम वलीले अतिथि वक्ता राम सुन्दर बकेलाई धन्यवाद व्यक्त गर्दै क्लबको तर्फबाट सोभिनियर प्रदान गरे ।