उपभोक्तालाई आयल निगमको आग्रहः भारतबाट आवश्यकताअनुसार ग्यास प्राप्त भइरहेकाले घरमा अनावश्यक सञ्चिति नगर्नु


काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उपभोक्ताले अनावश्यक रूपमा ग्यास संचित गर्न थालेका कारण बजारमा अभाव भएको बताएका हुन् ।

उनले हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको जानकारी दिए । उनकाअनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ ।

उनले भने,’हाम्रो तथ्याङकले के देखाउछ भने मासिक खपत नेपालको ४५ देखि ४६ हजार मेट्रिकटन हो । त्यो हरेक महिना हामीले पाएका छौं । फागुनको २६ गते साढे ४५ हजार मेट्रिक टन ग्यास हामीकहाँ आइपुगेको अवस्था छ । तर उपभोक्तले भण्डारण गर्दा अभाव देखिएको हो ।’

उनले उपभोक्तालाई ग्यास आपूर्ति सहज रहेको भन्दै अनावश्यक रूपमा घर, होटल वा रेस्टुरेन्टमा ग्यास भण्डारण नगर्न आग्रह गरे । अत्यधिक भण्डारण गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुने मात्र नभई दुर्घटनाको जोखिम पनि बढ्ने उनको भनाइ छ ।