म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२\८३ मा खानेपानी, सिंचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, ४ वटा नदी नियन्त्रण, २९ वटा सिंचाइ, विपद्का ४ र ऊर्जातर्फ २ वटा योजना कार्यान्वयनमा ल्याएको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । ‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।’
रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका–४ को बुकेनी सिंचाइयोजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।
खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार ७ र सर्वेक्षणसम्बन्धी ४ योजना छन् । नदी नियन्त्रणतर्फ कुल १ करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुंगा पहिरो रोकथाम योजना छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र ५ वटा मर्मतसम्भारसम्बन्धी योजना छन् ।

प्रतिक्रिया