क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो


चितवन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताए ।

उनका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जिनाइन केरा प्रतिकोसा रु तीनले बिक्री भइरहेको उनको भनाइ छ । गत दसैँ, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उनले सुनाए ।

चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उनले जानकारी दिए । यो केरा अहिले घरीको ६०० रुपैयाँमा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उनको भनाइ छ । 

नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्तले सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको बताए । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उनले भने, “नेपालमा टिआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टिनमा कडाइ गर्न थालेको छ ।” गत मङ्सिर २ गतेदेखि आयातित केरामा क्वारेन्टिनमा कडाइ गर्न थालिएको उनले बताए ।

क्वारेन्टिनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उनले जानकारी दिए । उनले भने, “अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।” जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि  विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उनले बताए ।

नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गरे ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीले अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताए । उनका अनुसार हाल जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । 

राज्यले क्वारेन्टिनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उनले बताए । यहाँ उत्पादित केरा चितवनसहित काठमाडौँ, पोखरा, भैरहवालगायत मुख्य सहरहरूमा जाने गरेको छ ।