अध्यक्ष ढकालको प्रश्नः निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच ?


रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताएका छन् । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे ।

शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी÷व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पारे । उनले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताए ।

“कुनै उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ”, अध्यक्ष ढकालले भने ।

उनले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिए । वर्तमान सरकारको मन्त्रिपरिषद्ले यथाशीघ्र यसबारे निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उनले दाबी गरे । “मेरो हकमा भन्नुहुन्छ भने मेरो कम्पनीअन्तर्गत काम गर्ने २० हजार छन् । एक जनाले पाँच जनाको परिवार पालेका छन् । एक लाख मानिस आश्रित छन् । मेरो टाउकोमा अरबौँको ऋण छ । मैले छोडे भने एक लाख रोजगारीको अवस्था के होला ? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन”, उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो । वार्षिक रूपमा सरकारी निकायले तीन हजार ५०० देखि चार हजारलाई रोजगारी दिएको जनाउँदै उनले निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताए । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गरिरहने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । “छोटो समयमा महासङ्घको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला”, उनले भने ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताइन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या आएको बताए ।