३२ खर्ब भन्दाबढी विदेशी विनिमय सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको पछिल्लो पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बैंकले शुक्रबार वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । बैंकका अनुसार सरकारको वैदेशिक मुद्रा सञ्चिति ३२ खर्ब माथि पुगेको छ । मंसिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको बैंकले जनाएको छ ।

गत असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेकोमा मंसिरसम्म आइपुग्दा सञ्चिति १९.६ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् ।

उपभोक्ता महँगीको दरमा गिरावट आएको छ । बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रस्फीति १.६३ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको सोही महिनामा महँगीको यो दर ६.०५ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगीको दरमा गिरावट आएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार यस पटक खाद्य तथा पेय पदार्थ समूहको मुद्रस्फीति २.०५ प्रतिशतले ऋणात्मक (नेगेटिभ) रहेको छ। यसको अर्थ, गत वर्षको मंसिरको तुलनामा यस वर्ष खाद्य वस्तुको समग्र मूल्य घटेको छ ।

विशेषगरी तरकारीको मूल्यमा ८.५४ प्रतिशत, मरमसलाको मूल्यमा ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा ५.७९ प्रतिशतले कमी आएको छ । यद्यपि, घ्यू तथा तेलको मूल्य भने ५.५२ प्रतिशतले बढेको छ । यस्तै दुग्ध पदार्थ र अण्डाको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।