काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको जनाएको छ ।
जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढेको हो । २०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
२०८१ मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड मात्रै रेमिट्यान्स आएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स निरन्तर बढे पनि चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

प्रतिक्रिया