मेला–महोत्सवले आर्थिक गतिविधिमा टेवा


गण्डकी । हरेक हिउँदयाममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् । मेला–महोत्सवको आयोजनाबाट आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ ।

यही पुस ३ देखि १४ गतेसम्म चलेको २१औँ संस्करणको लेखनाथ महोत्सवमा ११ करोड २० लाख बराबरको कारोबार भएको आयोजकको दाबी छ । आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घका अनुसार तीन लाख ३५ हजार दर्शकले महोत्सव अवलोकन गरे । पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित लेखनाथ महोत्सवलाई यस क्षेत्रकै ठूलो महोत्सवका रुपमा लिइन्छ ।

आठौँ संस्करणको बागलुङ महोत्सव मङ्गलबार सकियो । बाह्र दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा झण्डै आठ करोडको कारोबार भएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । कला, संस्कृतिको संरक्षणसँगै पर्यटन, कृषि, उद्योग तथा व्यापार प्रवद्र्धनमा महोत्सवले टेवा पुर्याएको उनले बताए । महोत्सवस्थलमा २०० बढी व्यावसायिक कक्ष राखिएका थिए ।

“मेड इन बागलुङका रुपमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष छुट्टै राखिएको थियो”, अध्यक्ष शाक्यले भने, “समग्र रुपमा महोत्सव सफल भयो, महोत्सवका बेला आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायीहरुको मनोबल बढेको छ ।” मेला–महोत्सव मनोरञ्जनस्थल मात्र नभएर पर्यटन र व्यवसाय प्रवद्र्धन गर्ने माध्यम पनि रहेको उनको भनाइ छ ।

आठौँ पर्वत महोत्सव यही पुस ९ देखि १९ गतेसम्म चल्यो । आर्थिक विकास र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित आयोजित उक्त महोत्सवमा पाँच करोड बढीको कारोबार भएको आयोजक पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा १५० भन्दा बढी व्यावसायिक कक्ष राखिएको थियो । विगतका महोत्सवको तुलनामा यस वर्ष दर्शकको सङ्ख्या बढ्दा किनमेल पनि बढेको महोत्सवका मूल संयोजक ठाकुर वि पौडेलले जानकारी दिए ।

बाहौँँ गोरखा महोत्सव पनि अहिले जारी छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस १४ गते सुरु भएको महोत्सव पुस २८ गतेसम्म चल्नेछ । पर्यटकीय राजधानी पोखरामा १४औँ संस्करणको पोखरा महोत्सव यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म आयोजना हुने भएको छ । आयोजक युनाइटेट क्लब, पोखराका अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो । उक्त महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटोलगायत गरी दुई सय ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।

महोत्सवबाट व्यावसायिक नाफाघाटा मात्र नसोचेर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको क्लबले जनाएको छ । क्लबले महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धनलगायत काममा खर्च गर्दै आएको छ । आगामी माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव आयोजना हुँदैछ । लमजुङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सवमा २२५ व्यावसायिक कक्ष रहने जनाइएको छ । एक लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिइएको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को छेकोमा यस वर्ष पनि पोखरामा सडक महोत्सव आयोजना गरियो । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित २७औँ संस्करणको सडक महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको ‘रेवान’ पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । त्यसअघि पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन गरिएको थियो ।

चाडपर्वका मौकामा आयोजना गरिने स–साना मेला–उत्सवले पनि गाउँघरमा उस्तै रौनक थप्ने गरेका छन् । माघेसङ्क्रान्ति पारेर म्याग्दीको बेनी बजार, बागलुङको जैमिनी र पोखराको ढुङ्गेसाँघुलगायतका क्षेत्रमा मेलाको आयोजना गरिँदैछ । यी मेला इतिहास र परम्परासँग जोडिएका छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको उद्देश्यसहित मेला–महोत्सवको आयोजना हुने गरेका छन् ।

एकैठाउँमा वस्तु तथा सेवाको किनमेल हुने हुँदा महोत्सवले क्रेता र विक्रेता दुवैका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सदस्य नरेश कँडेलले बताए । “मेला–महोत्सव भइरहनुपर्छ, यसले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा पनि सहयोग पुग्छ”, उनले भने, “हरेक जिल्लाको आर्थिक विकासको सम्भावना र अवसरको खोजीका लागि पनि यस्ता महोत्सव आयोजना हुनु आवश्यक छ ।”