काठमाडौँ । नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममार्फत परियोजनाको औपचारिक सुरुआत गरिएको हो । आइक्यानका अनुसार परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सिर्जना गर्नु रहेको छ ।
गेन परियोजनाले पाँच वर्षभित्र वार्षिक ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । यसै अवधिमा सेवा निर्यातमार्फत बर्सेनि करिब ८० अर्ब बराबरको आय देशमा भित्र्याउने योजनासमेत छ ।
परियोजनाअन्तर्गत अकाउन्टिङ आउटसोर्सिङका लागि आवश्यक नियामक तथा संस्थागत संरचना विकास, सुरक्षित डिजिटल पूर्वाधार निर्माण, विश्वस्तरका मापदण्डमा जनशक्ति प्रशिक्षण र गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । साथै, आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म र इनक्युबेशन सेन्टर स्थापना गरी नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिनेछ ।
आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने जानकारी दिए । उनका अनुसार विश्व बजारमा भारत, बङ्गलादेश, भियतनाम र फिलिपिन्सजस्ता मुलुकले देखाएको प्रभावकारी उपस्थिति हेर्दा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।
“नेपालमै बसेर विश्वका विभिन्न देशका संस्थालाई लेखा सेवा दिन सकिने वातावरण बनाउनुपर्छ”, उनले भने, “नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने उद्देश्यका लागि सीप विकास र नीतिगत स्पष्टता अपरिहार्य छ ।”
कार्यक्रममा आइक्यानका नायब निर्देशक सन्तोष विष्टले संस्थाले हाल २०८१–२०८५ का लागि तयार गरिएको पाँचवर्षे रणनीति कार्यान्वयनमा रहेको बताउँदै ठूला अर्थतन्त्र भएका मुलुकलाई नेपालले किफायती र गुणस्तरीय अकाउन्टिङ सेवा दिन सक्ने सम्भावना बलियो रहेको उल्लेख गरे ।
परियोजनाले बेलायत, अष्ट्रेलिया, अमेरिका, युरोपेली सङ्घलगायत सम्भावित बजार लक्षित डिजिटल प्रचारप्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्यमार्फत अवसर विस्तार गर्ने योजना बनाएको छ । साथै, विश्वस्तरमा प्रयोग हुने लेखा सफ्टवेयर र आउटसोर्सिङसम्बन्धी विशेष प्रमाणपत्र कार्यक्रम सञ्चालन, राष्ट्रिय प्रतिभा दर्ता प्रणाली निर्माण तथा आउटसोर्सिङका पाठ्यक्रम विकासालाई अघि सारिएको छ ।
कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षण कानुन सुदृढीकरण, नेपाली कम्पनीलाई विदेशमा शाखा सञ्चालनको सुविधा र वैदेशिक लगानी शीघ्र स्वीकृत गर्नेलगायत नीतिगत सुधारले परियोजना सफल हुने अपेक्षा आइक्यानले गरेको छ ।
साथै आइक्यानले परियोजना कार्यान्वयनपछि नेपाली अडिट फर्म र यस पेसामा लागेका व्यक्तिबाट अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउँदै सेवा निर्यातमार्फत मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरेको छ ।

प्रतिक्रिया