स्याङ्जामा धान उत्पादन बढ्यो


वालिङ। गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो ।

गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको कार्यालयले जनाएको छ ।

‘पछिल्ला वर्षमा उन्नत जातका बीउको प्रयोग, आधुनिक यन्त्र-उपकरण तथा प्रविधिको प्रयोग बढ्दै गएको छ’, पाठकले भने, ‘बढ्दो प्रविधिको प्रयोग सँगसँगै अनुकूल वातावरणका कारण पनि उत्पादकत्व वृद्धि भएको हो ।’

देशका कतिपय ठाउँमा लगाइएको धानबाली भित्र्याउने बेलामा परेको बेमौसमी पानीले क्षति पुर्‍याए पनि स्याङ्जामा भने त्यति ठूलो क्षति हुन नपाएकाले उत्पादनमा कमी नभएको उनको भनाइ छ ।

जिल्लामा धानखेती हुने कूल क्षेत्रफलमध्ये झण्डै ४० प्रतिशतमा ‘हाइब्रिड’ र उन्नत जातका बीउको प्रयोग हुने गरेको अर्थविज्ञ पाठकले जानकारी दिए । यस वर्ष प्रतिहेक्टर चार दशमलव ५९ मेट्रिकटन धानको उत्पादकत्व रहेकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन थियो । गत वर्ष स्याङ्जामा ६७ हेक्टर क्षेत्रफलमा ३०६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।