निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न दोषीमाथि कारबाही हुनुपर्छः अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनमा भएको घुसपैठ, तोडफोड र निजी सम्पत्ति माथिका आक्रमणले लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् ।

महासंघले बुधबार आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रको सुरक्षा, सम्मान र काम गर्ने वातावरणबारे गम्भीर प्रश्न उठेको बताएका हुन् ।

उनले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न दोषीमाथि कारबाही आवश्यक रहेको बताए । उनले भने, ‘निजी क्षेत्र सुरक्षित र सम्मानित भई काम गर्न सकेन भने विकासको अभियान सफल हुँदैन । त्यसैले दोषीमाथि कारबाही होस्।’

अध्यक्ष ढकालले निजी क्षेत्रले लगानी गरी व्यवसाय गरेर नाफाको अपेक्षा राख्नु गलत हो ? भन्दै प्रश्न गरे । उनले हरेक आन्दोलन र प्रदर्शनमा निजी क्षेत्रलाई नै निसाना बनाउने काम भएको भन्दै ढकालले त्यसमा तीब्र असन्तुष्टि व्यक्त गरे ।

उनले आगामी दिनमा आन्दोलनका नाममा निजी क्षेत्रमाथि आक्रमण र आगजनी गर्ने वातावरणको अन्त्य गर्न माग गरे ।
अध्यक्ष ढकालले सरकारले सीमित मात्र रोजगारी सिर्जना गर्ने र बाँकी अधिकांश रोजगारी निजी क्षेत्रबाटै आउने बताए । उनले युवा पलायनको मूल कारण पनि यही असुरक्षित र झन्झटिलो वातावरण भएको बताए ।