काठमाडौँ । एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव २.३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छन् ।
एमसिए–नेपालले सोमबार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिव दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिव ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।
यी आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज-वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भने नारायणघाट – मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिनेछ। सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो।
सोमबार एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन, अर्थ मन्त्रालयका सह–सचिव डा. धनीराम शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक डा. विजय जैसी, एमसिए–नेपाल सञ्चालक समितिका सदस्यहरू, एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल तथा एमसीसी र एमसिए–नेपालका कर्मचारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा शर्मा – कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौता एक आपसमा आदानप्रदान गरे ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले भने, ‘धान खोला – लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट – मुग्लिङ सडक मर्मत आयोजनाले कुनै एउटा सम्झौताभन्दा धेरै कुराको प्रतिनिधित्व गर्छ। संयुक्त रूपमा यिनीहरू अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेञ्ज कम्प्याक्टको गति तथा नेपाली जनता एवं नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना गर्नका लागि सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्काे उपलब्धि हुन्।’
अर्थ मन्त्रालयका सह–सचिव डा. धनीराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।
सडक मर्मत आयोजना यातायात लागत घटाउने र नेपालका सडकको अवस्थामा सुधार गर्ने उद्देश्य बोकेको एमसीसी नेपाल कम्प्याक्टको एउटा कार्यक्रम हो।

प्रतिक्रिया