चार उद्योगले डेडिकेटेड र ट्रंक लाइनको बुझाए पहिलो किस्ता, जोडियो विजुली


काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएका छन् ।

पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारसँगको सहमतिअनुसार धरौटी रकम तिरेका हुन् ।

यससँगै उद्योगहरूमा विच्छेद गरिएको बिजुलीको लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता छ । त्यसलाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।